राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भएको पदाधिकारी निर्वाचनको मतगणना सुरू भएको छ।
विद्युतीय मतदान व्यवस्थापन गरिरहेको राम-लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले पदाधिकारी चुनाव सकिएलगत्तै मतगणना सुरू भएको जानकारी दिए।
दोस्रो चरणमा भएको पदाधिकारी चुनावमा ३० प्रतिशतभन्दा कम भोट खसेको छ। जम्मा १२८९ मत मात्र खसेको रिमालले जानकारी दिए।
रास्वपाले महाधिवेशन प्रतिनिधिको औपचारिक तथ्यांक सार्वजनिक नगरे पनि ४३११ जना प्रतिनिधि रहेको नेताहरूले बताउँदै आएका छन्। यही संख्यालाई आधार मान्ने हो भने पदाधिकारी निर्वाचनमा ३ हजारभन्दा बढीले मत नहालेको देखिन्छ।
पहिलो चरणको केन्द्रीय समिति निर्वाचनमा २९५९ जनाले मतदान गरेका थिए।
अहिले दोस्रो चरणको निर्वाचनमा केन्द्रीय समितिको तुलनामा पनि आधाभन्दा कमले मात्र भोट हालेका छन्। महाधिवेशन प्रतिनिधिहरूको तुलनामा अहिलेसम्म खसेको मत संख्या झन्डै ३० प्रतिशत मात्र हुन्छ। यस अनुसार पदाधिकारी निर्वाचनमा ७० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि मतदान गर्न नआएको पाइएको छ।
मतदानको समय अवधि साढे ४ बजेसम्म तोकिएको थियो। तर मत कम खसेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले साढे ५ बजेसम्म समय थपेको र आफूहरू मतदाता कुर्दै बसेको रिमालले बताए।
दोस्रो चरणको मतदानमा यति ठूलो संख्यामा प्रतिनिधिहरू किन भोट खसाल्न आएनन् भन्ने यकिन छैन। केही नेताले भने महाधिवेशन अवधि लम्बिँदै गएकाले बसोबास व्यवस्थापन गर्न अप्ठ्यारो परेर धेरै प्रतिनिधि फर्किएको हुनसक्ने बताए।