राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएका विपिन कुमार आचार्य दाङ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
आचार्यले फागुन २१ को चुनावमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेका थिए।
पहिलो पटक संसदीय चुनाव उठेर सांसद जितेका आचार्य पार्टीको पहिलो महाधिवेशनबाट खुला प्रतिस्पर्धा गरेर महामन्त्री भएका छन्।
उनी पार्टीभित्र सभापति रवि लामिछाने निकट भनेर चिनिन्छन्। लामिछानेले भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा भारत भ्रमणमा जाँदा आफूसँग दुई जनालाई लिएर गएका थिए। ती दुईमध्ये विपिन एक हुन्।
यति मात्र होइन, विपिनको प्रतिस्पर्धा सहज बनाउन उनका पाँच जना प्रतिस्पर्धीले सामूहिक रूपमा मैदान छाडेका थिए।
महामन्त्रीका उम्मेदवारहरू गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने र राजुनाथ पाण्डेले सामूहिक रूपमा विपिनलाई समर्थन गर्ने घोषणा गरेका थिए। उनीहरूले पार्टी संस्थापन पक्षका उम्मेदवार विपिन आचार्य रहेको सन्देश पत्रकार सम्मेलन गरेरै दिए।
त्यसको केही समयभित्रै महामन्त्रीकी अर्का उम्मेदवार रञ्जु दर्शनाले पनि मैदान छाडिन्। उनले विपिनलाई समर्थन गर्ने र आफूले मत दिने घोषणा गरेकी थिइन्।
नवनिर्वाचित महामन्त्री आचार्यसँग केही समयअघि हामीले भिडिओ अन्तर्वार्ता गरेका थियौं, जसमा उनले आफ्नो राजनीतिक यात्राको अनुभवहरू बाँडेका थिए।
'राजनीतिक यात्राले मलाई सिकाएको कुरा के हो भने, नागरिकहरू 'म्याक्रो इन्डिकेटर' बुझ्दैनन्। उहाँहरूले जनजीविकामा प्रत्यक्ष असर पर्यो कि परेन भन्ने हेर्नुहुन्छ। भान्सा कति सजिलोसँग चल्यो भन्ने आधारमा सरकारलाई तुलना गर्नुहुन्छ,' उनले भनेका थिए, 'जनजीविका, सुशासन र दीर्घकालीन विकासमा अबको सरकार केन्द्रित हुनुपर्छ।'
त्यति बेलाको कुराकानीमा उनले कुनै मन्त्रीले मापन अनुसार काम नगरे ६ महिनामै फिर्ता बोलाउनुपर्ने बताएका थिए।
फिल्म, क्रिकेट, फुटबल र वेब सिरिज मनपराउने विपिन रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले बलिउड फिल्म 'शोले' मा जय र वीरूले एकअर्कालाई सहयोग गरेजस्तै भूमिका खेल्नुपर्ने धारणा राख्छन्।
'शोलेमा जय र वीरूले एकअर्कालाई 'कम्प्लिमेन्ट' गर्छन्। जयको एउटा र वीरूको अर्को योगदान हुन्छ, तर गब्बर हराउन उनीहरू एकै ठाउँ आउँछन्,' उनको भनाइ थियो, 'अहिले नागरिकले हामीलाई म्यान्डेट दिएको शक्ति संघर्षमा लाग्न होइन। दुई जना मिलेर नेतृत्व लिऊ र देशलाई ड्राइभ गर भनेर दिएको हो। नागरिकले यसलाई गम्भीरपूर्वक हेरिरहेका छन्।'
सभापति रवि लामिछानेसँग आफ्नो व्यक्तिगत सम्बन्ध भए पनि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहसँग कमै भेट भएको आचार्यको भनाइ छ।
'भेटघाट त्यति धेरै भएको छैन। म मिडियामा आएको भाष्यका कारण कुनै पनि व्यक्तिबारे धारणा बनाउँदिनँ। म एक्लाएक्लै हुने भेटघाटमा 'भाइब क्याच' गरेपछि मात्र धारणा बनाउन सक्छु,' उनले भने, 'रवि र बालेनको भने गज्जबको बन्डिङ छ।'
हेर्नुहोस् आचार्यसँग हामीले गरेको भिडिओ कुराकानी —