प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ रास्वपाले १८ वर्षमुनिकालाई पार्टी सदस्य बनाएको विषयमा संसदमा प्रश्न उठाएको छ।
आजको प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाले १८ वर्ष मुनिका ३५ हजार २ सय ५७ जनालाई पार्टी सदस्य बनाएको पाइएको बताएकी हुन्।
‘एउटा तथ्यांकले निकै गम्भीर र आश्चर्यचकित बनाएको छ, रास्वपा सदस्यता लिनेको सूची हेर्दा १८ वर्षमुनिका पनि ३५ हजार ३ सय ५७ जना सदस्य हुनुहुँदो रहेछ, औपचारिक रूपमा नै घोषणा गरिएको यो सवालको कांग्रेसको ध्यानाकर्षण भएको छ,’ उनले भनिन्।
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन।
‘यस्तो कार्य गरेमा ८० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैदको व्यवस्था गरिएको छ, के रास्वपालाई यो व्यवस्था लागू नहुने हो?,’ उनले प्रश्न गरिन्, ‘कि रास्वपा संविधानभन्दा माथि छ?’
उनले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नमिल्ने पनि बताइन्।
विद्यार्थीले राजनीति गर्न हुँदैन भनेर स्ववियुसहित विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेको सरकारले 'आफ्नो दलमा भने बालबालिकालाई सदस्य बनाएको' उनको भनाइ छ।
‘कलिला विद्यार्थीलाई आफ्नो पार्टीको झोला बोकाउन मिल्छ कि मिल्दैन,’ उनले भनिन्।