सातै प्रदेशमा पार्टी पुनर्गठन छलफल सकेको नेकपा एमालेभित्र हिजोआज पुनर्गठन कि पुनर्मिलन भन्ने बहस चल्न थालेको छ।
अध्यक्ष केपी शर्मा ओलीबाट अब पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका अधिकांश पदाधिकारी पुनर्गठनका पक्षमा छन्। त्यसैले उनीहरूले सबै प्रदेश पुगेर छलफल गरी सुझावसमेत संकलन गरिसकेका छन्।
पुनर्गठन नरूचाएको एमालेभित्रकै अर्को पक्षले भने पुनर्मिलनको बहस अघि बढाइरहेको छ। ओली नै अध्यक्ष कायम राख्नुपर्ने पक्षमा उभिएका उपाध्यक्ष रामबहादुर थापा 'बादल' र सचिव महेश बस्नेत लगायत पुनर्मिलनको बहसतिर केन्द्रित छन्।
एमाले नेताहरूले सातै प्रदेश पुगेर पुनर्गठनबारे सुझाव लिएका थिए। प्रदेशहरूमा ६० प्रतिशतभन्दा बढी नेता-कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा उभिएका छन्। त्यसैले पनि अध्यक्ष ओली पक्ष पुनर्गठनभन्दा पुनर्मिलनतर्फ बहस अघि बढाउन खोजिरहेको छ।
१९ पदाधिकारीमध्ये १० जना प्रस्ट रूपमा पुनर्गठनका पक्षमा छन्। पुनर्गठन गर्नै हुन्न भन्नेमा बादल र महेश मात्रै उभिएको नेताहरू दाबी गर्छन्।
एमाले नेता कर्ण थापा पार्टी पुनर्गठन बहसलाई छायाँमा पार्न पुनर्मिलनको कुरा ल्याइएको हुन सक्ने बताउँछन्।
'पुनर्गठनलाई छायाँमा पार्न खोजिएको प्रयास हुन सक्छ तर अहिले पार्टी पंक्ति यसमा अलमलिँदैन,' उनले सेतोपाटीसँग भने, 'एमालेमा पहिले पुनर्गठन हो, त्यस आधारमा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण, पार्टी सुधार र अन्तिममा कार्यगत एकताको कुरा हो। त्यही कुरा अहिले नेकपाभित्र पनि उठिराखेको छ।'
यही कारण अहिले पुनर्मिलन बहसको औचित्य र अर्थ नभएको थापाको भनाइ छ।
बुद्धिजीवि परिषद अध्यक्ष गजेन्द्र थपलियाले पनि अहिले एमालेमा पुनर्मिलनभन्दा पुनर्गठनकै आवश्यकता रहेको बताउँछन्।
'अहिलेको आवश्यकता पुनर्गठन र पुनर्जागरणकै हो। आधारभूत तहसम्म यही कुराको माग भइरहेको छ। नेतृत्व भने कार्यकर्ताको मर्म र भावना तथा आन्दोलनको आवश्यकताभन्दा व्यक्तिगत इच्छाका आधारमा चल्न खोजेको देखिन्छ,' उनले सेतोपाटीसँग भने, 'पार्टी आन्दोलनको भविष्य के हुन्छ भन्दा पनि आफ्नो भविष्य के हुन्छ भन्ने चिन्ताले यी बहस उठाइरहनुभएको होला। तर यसको औचित्य छैन, अहिले यो बेला पनि होइन।'
एमाले नेताहरूका अनुसार अध्यक्ष ओलीले दुई कारण पुनर्मिलन चाहेका छन् — आफूलाई अध्यक्षबाट हटाउने गरी पुनर्गठन बहस चलेकाले त्यसलाई निस्तेज पार्न, र कम्युनिस्ट पुनर्मिलनका नाममा गुमेको आफ्नो साख फर्काउन।
'२०७७ पुस ५ को संसद विघटन र तत्कालीन नेकपा छिन्नभिन्न हुनुको कारण परम्परागत कमान्डबाट राजनीति उम्कियो भन्ने छ। यो ओलीकै कारण हो भन्ने पनि कतिपयलाई लागेको छ। त्यो आरोप मेटाउन र फेरि आफू शक्तिमा फर्कन उहाँले पुनर्मिलन बहस चलाउँदै हुनुहुन्छ,' एमालेका एक नेताले भने।
सचिवालयका अधिकांश सदस्यले अध्यक्ष ओलीबाट अब पार्टी नचल्ने भन्दै पुनर्गठन गर्न खोजेका थिए। त्यसपछि पार्टीले सुझावहरू संकलन गर्ने कमिटी नै बनायो। यो कमिटी प्रदेश पुग्नुअघि नै ओलीले केन्द्रीय सदस्यहरू र जिल्ला तहका नेताहरूसँग भर्चुअल रूपमा कुरा गरिसकेका थिए। तर प्रदेश र जिल्ला तहका अधिकांश नेताहरू पुनर्गठनकै पक्षमा उभिएका छन्।
नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले संविधान, लोकतन्त्र र संघीयताको रक्षा, सम्बर्द्धन र विकासका लागि वामपन्थी शक्तिहरूबीच कार्यगत एकताको नीति अनुरूप पार्टी अघि बढेको बताए।
'हामी संविधान, लोकतन्त्र र संघीयताको रक्षा, सम्बर्द्धन र विकासका लागि वामपन्थी शक्तिहरूबीच कार्यगत एकता नीतिमा पार्टी अघि बढेको हो,' उनले भने, 'अहिले एमाले र नेकपाबीच कार्यगत एकताको मात्र कुराकानी अघि बढिरहेको छ। पार्टी एकताबारे कुनै छलफल भएको छैन।'
अध्यक्ष ओलीले जस्तै नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' पनि कार्यगत एकताका लागि तयार छन्। ओलीले 'स्वर्ग र नर्क गए पनि सँगै जाने हो' भन्दै आस देखाएर छलकपट गरेको बताउँदै आएका प्रचण्डले एमालेसँगको सहकार्य पुनः अगाडि बढ्ने समेत बताइसकेका छन्।
विगतमा नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदे सहमति भएर सत्ता समीकरण बनेको दिन तत्कालीन प्रधानमन्त्री ओलीले 'कांग्रेससँग कुनै सहमति भएको छैन; स्वर्ग गए पनि, नर्क गए पनि हामी सँगै जाने हो' भन्दै आफूलाई छलकपट गरेको प्रचण्डले बताउँदै आएका थिए।
शुक्रबार विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद र सडक दुवै मोर्चामा एमालेसँग मिलेर अघि बढ्ने बताएका हुन्।
'अहिलेको परिस्थितिमा संसदमा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त बनाउन पनि एमालेसँगको सहकार्य अनिवार्य भइसकेको छ,' उनले भनेका थिए।
आफ्नो राजनीतिक यात्रामा 'क्रमभंग' गरिरहने स्वभावलाई स्मरण गर्दै उनले आगामी महाधिवेशनबाट फेरि नयाँ क्रमभंग हुने उद्घोष गरेका थिए। उनले यसो भनेर पार्टी पुनर्मिलन वा अर्कै नेताको नेतृत्व स्वीकार गरेर जान खोजेको हो कि भन्ने चर्चा समेत हुन थालेको छ।