पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरू फेरि एकताबद्ध हुन लागेको बताएका छन्।
मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै खनालले क्रान्तिलाई नयाँ उचाइबाट अगाडि बढाउनेगरी फेरि वामपन्थी शक्तिहरू एकताबद्ध हुन लागेको बताएका हुन्।
वामपन्थी एकता धेरै अगाडिदेखि नै जरूरी भएकामा अहिले वाध्यात्मक परिस्थिति सिर्जना भएकाले एकता आवश्यक रहेको बताए।
'बीचको कालखण्डमा हामीमा कहिले सिङ पलायो कहिले जुरो पलायो। कहिले अरू अरू के-के पलायो पलायो। त्यस कारणले एकताबद्ध हुन सकेनौं,' उनले भने, 'अब परिस्थितिले बाध्य बनाएको छ। यसले गर्दा आज हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदैछौं।'
उनले आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउने कामको थालनी गर्न पनि आह्वान गरेका छन्।
'निकै लामो समयदेखि वैचारिक रूपले भिन्न भिन्न भएर आएका छौ। यो भिन्नता एउटा विचार गोष्ठीले मेटिने वाला छैन। लामो यात्रा गर्नुपर्ने छ। कम्तिमा आजको ज्वलन्त विषयमा एक हुँदै कार्यगत एकता गरेर अगाडि बढ्नुपर्नेछ,' उनले भने।
कम्युनिस्टहरू छिन्नभिन्न भएकाले पनि भर्खरै भएको चुनाव नेपालको बामपन्थी आन्दोलनले शर्मनाक पराजय ब्यहोर्नुपरेको उनको भनाइ थियो।
'यदी यी दुइटै दलले मात्रै निर्वाचनभन्दा अगाडि कार्यगत एकता गरेको भए। हिसाब गर्नुस् नेकपा १७ सिट, एमाले २५ सिट, दुइटा जित्दा ४२ सिट। तर यी दुइटा जुध्दा हामीले ३२ सिट हरायौं। त्यो पनि हाम्रै हुन्थ्यौं। त्यो जोड्दा ७२ हुन्थ्यो। दुइ पार्टीबीच एकता भएको भए अझै बढ्थ्यो। करिब १०० सिट बामपन्थीको हुन्थ्यो। आज यो बालेन तानाशाही चल्ने थिएन,' उनले भने।