पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेताहरुले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला भएको बताएका छन्।
मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले इतिहासले र जनताले माग गरे अनुरूप अगाडि बढ्न सक्यौं कि सकेनौं भनेर आत्समीक्षा गर्ने बेला भएको बताएका हुन्।
'८ वर्ष अघि मात्रै जनताले झन्डै २ तिहाई बहुमत दिएका होइनन्? १७७ सिट वामपन्थीले ल्याएको थियो। राष्ट्रिय सभा हाम्रै थियो। मधेशबाहेक प्रदेशसभा पनि हाम्रै थियो। तल पालिकाहरूमा ६० प्रतिशतभन्दा बढी हाम्रै थियो। १० लाखभन्दा बढी पार्टी सदस्य थियो। ८ वर्ष पनि नपुग्दै हामी कहाँ आइपुगेका छौं?,' उनले भने।
त्यसो गर्दा कसकै टाउको तात्छ भने हिउँ ल्याएर थाप्लोमा राख्न पनि उनले सुझाव दिए।
'टाउको धेरै तातेको छ भने देशको १५ प्रतिशत भूभागमा हिउँ जम्छ त्यहाँ एक किलो हिउँ ल्याएर थाप्लोमा राखौं। अनि सोचौं। के कारणले गर्दा हामीले पराजय भोग्नुपर्यो? हामीले किन कृषि क्रान्ति गर्न सकेनौं? भूमिसुधार गर्न किन सकेनौं? दुई तिहाई आउँदा पनि नभए के हुन सक्छ? त्यसो हुनाले हामीभित्र संस्कृति भएन कि, पद्धति भएन कि, दृष्टिकोण भएन कि? के कारणले भएन? पार्टीसँग त यी सबै कुरा थिए,' उनले भने।
उनले समाजवादी क्रान्ति र रूपान्तरणको काममा ठीक ढंगले अगाडि बढेको खण्डमा र सही कार्यदीशा नीति सिद्धान्त लिएर अगाडि बढ्न सक्दा र वैज्ञानिक समाजवादीको लक्ष्य लिएर सारा कम्युनिस्टलाई एक गर्न सकेको खण्डमा मात्रै मदन भण्डारीप्रति सच्चा सम्मान हुने बताए।