पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले नेपालका कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता हुने अवस्थाआफूले नदेखेको बताएका छन्।
मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा नेता नेपालले विचार मिल्दै गएमा मात्रै एकता हुने बताए।
'पहिलो कुरा सहकार्य गर्ने हो। विषय मिल्ने कुरा मा सहकार्य गर्ने। विचार मिल्दै गयो, मन मिल्दै गयो, भावना मिल्दै गयो भने एकताबद्ध हुने हो', नेता नेपालले भने, 'आज मिलेको छ। भोलि फेरी फुटेको छ। त्यो काम नहोस् । विगतमा त्यस्तो भएको छ। मिल्ने कुरा मात्र ठूलो कुरा होइन। बलियो एकता हुनुपर्छ। सिद्धान्तनिष्ठ हुनुपर्छ। भावना मिल्नुपर्छ। विधि पद्दतिमा दह्रो हुनुपर्छ।'
उनले बेलाबेलामा कम्युनिस्ट पार्टी मिल्ने विषय चर्चामा आउने गरेको पनि उल्लेख गरे।
'चर्चामा आउने गरेको छ – कम्यनिस्ट पार्टी आज मिल्ने, बिहान मिल्ने, बेलुका मिल्ने। यो प्रश्नको जबाफ दिदाँ दिँदा मेरो दिमाग खराब भइसकेको छ', नेता नेपालले भने, 'म त्यस्तो देखिरहेको छैन।'
उनले एकता हुने देख्नेहरुलाई अघि बढ्न सुझाव पनि दिए।
'ज-जसले एकता हुने देख्नुभएको छ, ठिकै छ। ऊ नै अगाडि बढ्ने हो। जसले देखेको छैन, छुट्छ', नेता नेपालले भने, 'केही फरक पर्दैन। अगाडि बढेर इतिहास बनाउनुपर्छ। विगतमा हामी अघि बढेर इतिहास बनायौँ। अहिलेका युवा पुस्ता अघि बढेर इतिहास कायम गर्नुस्। युवा पुस्ताको काँधमा जिम्मेवारी आएको छ। कम्युनिस्ट आन्दोलन जोगाउनुपर्छ।'