नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकको रोस्टमबाट दिएको अभिव्यक्ति चितवनबाट खण्डन नभएको बताएका छन्।
प्रधानमन्त्री शाहले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति पुष्टि गर्न एमालेसहित प्रतिपक्षी दलहरूले आग्रह गरेका छन् भने पुष्टि नभए अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।
यसबीच रास्वपाले चितवनमा प्रथम महाधिवेशन गरेको थियो। त्यसक्रममा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले सीमाबारे पनि बोलेका थिए।
प्रधानमन्त्रीले रास्वपा महाधिवेशनमा बोलेपछि कतिपयले संसदमा दिएको अभिव्यक्ति खण्डित भएको व्याख्या गरेको भन्दै ओलीले प्रधानमन्त्रीको सीमारे अभिव्यक्ति खण्डन नभएको बताएका हुन्।
‘हामीले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट। कति निराधार कुरो। कति देश विरोधी कुरो,’ मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा उनले भने, ‘अस्ति चितवनमा गएर लिपुलेक र कालापानी हाम्रै हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौं भन्ने अभिव्यक्तिको खण्डन भयो भन्ने विद्वानहरू फेरि निस्किए। कहाँ खण्डन भयो। लिपुलेक र कालापानी नेपालको हो भन्नेमा संसदमा विवाद भएको होइन। नेपालले थुप्रै ठाउँमा सीमा मिचेको छ भन्ने कुरामा विवाद भएको हो। जुन कुरा खण्डन गरेको छैन। अर्को मन्त्रीले जबाफ दिएर खण्डन भएन।’