लगातार चार दिनसम्म आक्रमण र प्रतिआक्रमणमा उत्रिएका अमेरिका र इरान अन्ततः सैन्य गतिविधि रोक्दै पुनः वार्तामा फर्किन सहमत भएका छन्।
दुवै देशले खाडी क्षेत्रमा तत्कालका लागि हानाहान रोक्ने र स्ट्रेट अफ हर्मुजसँग सम्बन्धित विवाद समाधानका लागि मंगलबार कतारमा वार्ता पुनः सुरु गर्ने सहमति गरेका हुन्।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स र एक्सियसले जनाएअनुसार जुन १७ मा भएको १४ बुँदे अन्तरिम समझदारीलाई कार्यान्वयन गर्दै दुवै पक्षले तत्कालका लागि सैन्य कारबाही रोक्ने निर्णय गरेका छन्।
यससँगै विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ हर्मुजबाट जहाजको आवतजावत पुनः सञ्चालन गराउने तयारी छ।
'एमओयूका सबै विषयमा प्राविधिक तहको वार्ता जारी रहनेछ। दुवै पक्ष अहिलेका लागि पछि हट्नेछन् र जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्,' रोयटर्ससँग एक अमेरिकी अधिकारीले भनेका छन्।
यो सहमति हुनुअघि खाडी क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको थियो।
बिहीबार स्ट्रेट अफ हर्मुजमा एउटा मालवाहक जहाजमा इरानी प्रक्षेप्य लागेपछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका थिए।
त्यसपछि अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको थियो भने जवाफमा इरानले आइतबार बिहान कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको थियो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी आक्रमणले युद्धविराम तोडेको भन्दै त्यसको जवाफस्वरूप अमेरिकी अड्डाहरूलाई निशाना बनाइएको जनाएको छ।
अमेरिकी अधिकारीहरूले भने इरानले आफ्ना सैन्य संरचनालाई निशाना बनाएको पुष्टि गरे पनि कुनै अमेरिकी सैनिकको मृत्यु नभएको र ठूलो क्षति नपुगेको बताएका छन्।
कुवेतले दुईवटा ब्यालिस्टिक मिसाइल खसालेको जनाएको छ भने बहराइनले एक आवासीय भवनमा क्षति पुगे पनि मानवीय क्षति नभएको जानकारी दिएको छ।
तनाव उत्कर्षमा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका थिए।
'हामी सधैं संयमित रहिरहन सक्दैनौं। यदि आवश्यक पर्यो भने हामीले सुरु गरेको काम सैन्य रूपमा पूरा गर्नेछौं। त्यसो भयो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै रहने छैन,' उनले भनेका थिए।
यसैबीच, इसराइलले पनि दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाहका भूमिगत संरचनामाथि फेरि आक्रमण गरेको जनाएको छ। इरानले भने लेबनानमा लडाइँ नरोकिए व्यापक शान्ति सम्झौता टिक्न नसक्ने चेतावनी दिएको छ।
यसअघि उपराष्ट्रपति जेडी भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफको नेतृत्वमा स्विट्जरल्यान्डमा मध्यस्थतापूर्ण वार्ता भएको थियो।
त्यसक्रममा अमेरिकाले तेहरानमाथिका केही प्रतिबन्ध पनि खुकुलो बनाएको थियो। तर त्यसयता दुवै पक्षबीच पुनः सैन्य भिडन्त चर्किएपछि अन्तरिम शान्ति सम्झौता नै धरापमा परेको थियो।
नयाँ सहमतिसँगै दुवै पक्ष फेरि वार्ताको टेबुलमा फर्किएका छन्।
कतारमा हुने छलफलले स्ट्रेट अफ हर्मुज, इरानको आणविक कार्यक्रम तथा क्षेत्रीय सुरक्षासम्बन्धी विवाद समाधानतर्फ नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।