क्रियाशील सदस्यता अद्यावधिक नगर्ने अडानसहित प्रदेश भेला गरिरहेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षीय भेलाकै प्रमुख अतिथि किशोरसिंह राठोरले आफूले क्रियाशील अद्यावधिक गर्ने र अरूलाई पनि अद्यावधिक गर्न आह्वान गरेपछि यो अभिव्यक्तिको संस्थापनइतर पक्षभित्र तरंग ल्याएको छ।
दाङको लमहीमा मंगलबार देउवा-कोइराला पक्षले संयुक्त रूपमा प्रदेश भेला गरेका थिए। उक्त भेलाको प्रमुख अतिथि थिए- पूर्वसहमहमन्त्री किशोरसिंह राठोर।
राठोरले आफूले क्रियाशील सदस्यता अद्यावधिक गर्ने र आफूलाई सम्पर्क गरिरहेका नेता कार्यकर्तालाई पनि अद्यावधिक गर्न भनेको कुरा मञ्चबाटै भनिदिएपछि कार्यक्रममा सहभागी रहेका कतिपय नेताकार्यकर्ता अचम्ममा परेका थिए। एक जना कार्यकर्ताले त राठोर बोलिरहेको बेला बीचमै बोलेका थिए। उनलाई रोल्पामा किन ६० प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका पक्षमा उभिए, हाम्रा पक्षमा उभिएनन् त भनेर उल्टै राठोरले प्रतिप्रश्नसमेत गरेका थिए।
'मलाई पूर्णबहादुर खड्का दाइले फोन गर्नुभएको थियो- मचाहिँ कांग्रेस छाड्नेवाला छैन जेसुकै होस् भनिदिएको छु, दुई कांग्रेस (नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक) एक भएको हो भन्ने मलाई थाहा छ, म चार तारे झण्डा र रूख चिह्न छाड्ने पक्षमा छैन,' लमही भेलामा पूर्वसहमहामन्त्री राठोरले भने, 'यो कुरा मैले लुम्बिनी भेला राख्ने बैठकमा पनि भनेको हुँ, पार्टीभित्र भिन्न मत हुन सक्छन् तर त्यहीँ बसेर लड्ने हो।'
उनले नेता खड्कालगायतप्रति लक्ष्य गर्दै 'दाइ भनेर नेता मानेको, म पनि नेता हो' भनेका थिए।
'दाइ भनेर मानेको हो, म आफै नेता हो। मेरो कार्यकर्ता गगन थापा सभापति भइसके, कसरी भए छाड्नुस्,' राठोरले भने, 'पार्टी संस्थापन हुन २० वर्ष लागेको थियो हामीलाई। तर संस्थापन हाम्रो हातबाट गयो, कसरी गयो? जसको जिम्मेवारी थियो उसैको हातबाट गयो, बल्ल बल्ल ल्याएको संस्थापन गयो भनेर अब के पार्टी छाड्ने, म चाहिँ छाड्दिनँ। जसलाई पार्टी खोल्न जाँगर छ खोले हुन्छ, दोहोरो कुरा गर्ने मेरो बानी छैन।'
उनले २०४६ सालदेखि आफू पनि गुटमा लागेको बताए।
'गुटमा लागियो, पार्टी फुटाइयो, १० जना मानिसले शेरबहादुर देउवालाई नेता मानेर हिँडे, हालीमुहाली गरे, हामीले के पायौं? केही मागेका थिएनौं, नेताले आफै सम्झिएर गर्छन् भन्ने थियो गरेनन्, त्यसमा पनि कुनै गुनासो छैन,' विगत सम्झँदै उनले भने, 'मैले बोल्ने कुरामा चित्त बुझ्दैन भने म यो भेलामै आउँदिनँ भनेर गेहेन्द्र दाइलाई भनेको थिएँ, दाइले बोल्ने नेता हुँदैन भने भनेपछि म आएको हो। मैले आफै क्रियाशील अद्यावधिक गरेको छैन, गर्छु अब। तपाईंहरूलाई भनेर गर्छु। मीनेन्द्र रिजालले गरेका रहेछन्, दीपक दाइले के गर्ने भनेर मलाई फोन गरेका थिए।'
उनले गत फागुनको चुनावदेखि आफू जिल्ला बसिरहेको र नेताहरूसँग सम्पर्क गर्ने जाँगर पनि नभएको बताएका थिए।
'पार्टीभित्रको झगडाले अन्याय भएको छ। एकताको कुरा सभापतिको हो, मिलाउँदैनन् त के गर्ने? लड्ने पार्टीभित्रै बसेर लड्ने हो। हिजो पनि अल्पमतमा थियौं, लड्दै संस्थापन भएको हो, फेरि लड्ने,' उनले भने, 'अब बुढेसकालमा कांग्रेस छाडेर मलाई केही चाहिएको छैन। पञ्चायतमा नेविसंघमा लाग्दा ठकुरी राजासाहेब किन नेविसंघमा लाग्ने भन्थे, अञ्चलाधीश हुने इच्छा भएको भए त्यो बेला पञ्चायतमा लाग्थेँ। पञ्चायतमा लागेका पनि नेता भएका छन् त कांग्रेसमा, हामीलाई अझै सिकाउँछन्।'
उनले अब नयाँ पार्टी खोल्नेतिर आफू नलाग्ने बताएका छन्।
'अब सके राजनीति गर्छु, नसके आलु खेती गर्छु,' उनले भने, 'तर कांग्रेस छाड्दिनँ। म अरूजस्तो होइन। गणेशमानजीले र किसुनजीले पनि पार्टी छाड्नुपर्यो। यति वर्ष र उति वर्ष भयो कांग्रेसमा लागेको भन्ने अनि रूखमा मत नहाल्ने? जबसम्म म सक्छु त्यो बेलासम्म रूख चिह्नमा म मत हाल्छु। कांग्रेसमा मत नहाल्नेहरूले पार्टी छाडे हुन्छ, पार्टी जो जोलाई खोल्न मन छ, खोल्नु। नेविसंघ पूर्वअध्यक्ष र महामन्त्रीमा मैले जति दु:ख अरू कसैले गरेको देखेको छैन। बालेन शाह प्रधानमन्त्री भएका छन् र मेरो कार्यकर्ता गगन थापा सभापति भएका छन्, मलाई कस्तो भएको होला, तैपनि मैले भनेको छु- सके राजनीति गर्छु, नसके आलु खेती गर्छु। हैसियत भएका मानिसले आफ्नो वडा जिताउनु, हेरौंला।'
सुशील कोइराला र खुमबहादुर खड्कालगायत नेताहरूसँग विगतमा आफूले लडेर आएको राठोरको भनाइ छ।
'म बिरामी भएको पनि २० वर्ष भयो, अब लड्ने मेरो जाँगर छैन। कसको आँट छ पार्टी खोल्ने, लड्ने,' उनले भने, 'हाम्रो हालत के छ? हामीले पार्टी छोडेपछि त लडाइँ नै रहेन। पार्टी लिएर गइहाले, हामीले छाडेपछि त झन् सधैं लैजान्छन्। सके लड्ने, नसके जय नेपाल भन्ने रूखमा मत हाल्ने।'