इरानले अमेरिकी उच्च अधिकारीहरूसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ।
यससँगै दुई देशबीच स्थायी शान्ति सम्झौताको सम्भावनामाथि फेरि अन्योल उत्पन्न भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर र विशेष दूत स्टिभ विटकोफ उच्चस्तरीय वार्ताका लागि कतारको दोहा पुगे पनि इरानले उनीहरूसँग प्रत्यक्ष भेट नगर्ने जनाएको हो।
कतारले भने दुवै पक्षबीच प्रत्यक्ष भेटको सट्टा मध्यस्थकर्तामार्फत संवाद अघि बढ्ने जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेइले पनि बैठक तय नभएको बताएका छन्।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले दुई देशबीच तल्लो तहमा प्राविधिक वार्ता भने सुरु हुने अपेक्षा रहेको बताएका छन्।
इरानी अधिकारीहरूले अनुसार दुई साताअघि भएको युद्धविरामका बाँकी सर्तहरू टुंग्याएपछि मात्र आणविक कार्यक्रमजस्ता जटिल विषयमा छलफल सम्भव हुने भनेर अडान राखेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
दुवै पक्षबीच भएको प्रारम्भिक सहमतिअनुसार इरानले स्ट्रेट अफ हर्मुजमा लगाएको अवरोध हटाउने तथा त्यसको बदलामा आर्थिक प्रोत्साहन प्राप्त गर्ने व्यवस्था रहेको छ।
साथै स्थायी शान्ति सम्झौताका लागि ६० दिनभित्र वार्ता गर्ने सहमति पनि भएको थियो।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले ट्रम्पले वार्तामा गतिरोध कायमै रहे थप सैन्य आक्रमण गर्ने विकल्पबारे रक्षा मन्त्री पिट हेगसेथ र संयुक्त सेना प्रमुख र संयुक्त सैन्य प्रमुख ड्यान केनसँग छलफल गरेको जनाएको छ।
रिपोर्टअनुसार ट्रम्पले हालका लागि कुटनीतिक प्रयासलाई थप समय दिने निर्णय गरेका छन्, यद्यपि उनले सार्वजनिक रूपमा इरानमाथि थप आक्रमण गर्न सक्ने चेतावनी दिँदै आएका छन्।
युद्धका कारण प्रभावित भएको हर्मुज जलमार्गबाट जहाज आवतजावत आंशिक रूपमा पुनः सुरु भएको छ। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने गर्छ।
तर इरानले उक्त जलमार्गको व्यवस्थापनमा आफ्नो सार्वभौम अधिकार रहेको दाबी गर्दै अगस्टको मध्यदेखि जहाजबाट शुल्क उठाउने संकेत दिएको छ।
इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले हर्मुजको सार्वभौमसत्ता इरान र ओमानसँग रहेको र दुई देशले त्यहाँको आवतजावतमा हुने व्यवस्था निर्धारण गर्ने बताएका छन्।
अमेरिका भने सुरूवातदेखि नै हर्मुजमा विना अवरोध जहाजहरुको आवतजावतको पक्षमा छ।
युद्धविरामकै बीच गत साता अमेरिका र इरानबीच पुनः हानाहान भएको थियो।
युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाएर अमेरिकाले दक्षिणी इरानमा हवाई हमला गरेको थियो।
जबाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरी ड्रोन हमला गरेको थियो।
पछि दुवै पक्षले हानाहान रोकेर वार्ताको टेबुलमा बस्ने सहमति गरेका थिए। तर अहिले फेरि इरानले प्रत्यक्ष वार्ता नगर्ने भनेर अड्को थापेपछि युद्धविराम पुनः संकटमा परेको हो।