रास्वपा प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको छ।
उक्त बैठकले चितवनको भरतपुरमा भएको प्रथम महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।
सहमहामन्त्री हरि ढकालले केन्द्रीय समिति बैठकपछि पत्रकारहरूलाई दिएको जानकारीअनुसार पार्टीका विभिन्न आयोगको नेतृत्व चयन गर्ने काम पनि भएको छ।
निर्वाचन, लेखा र अनुशासन आयोगमा नेतृत्व चयन गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो।
जसअनुसार निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई कायम राख्ने निर्णय भएको छ।
अनुशासन आयोग प्रमुख भने नयाँ नियुक्त भएका छन्। उनकाअनुसार पूर्वन्यायाधीश लेखनाथ पौडेललाई अनुशासन आयोग प्रमुख बनाइएको छ। उनी कास्कीका हुन्।