राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनमा सार्वजनिक गरेको विवरणअनुसार १८ वर्षमुनिका पार्टी सदस्य ६.७ प्रतिशत छन्।
१८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना सदस्य रहेको रास्वपाले बन्द सत्रमा पेस गरेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ।
रास्वपाले १८ वर्षमुनिकालाई पार्टी सदस्य नबनाउने भए पनि त्रुटिले गर्दा यो विवरण पेस हुन पुगेको महामन्त्री विपिनकुमार आचार्यले आज विज्ञप्ति निकालेर स्पष्टीकरण दिएका छन्।
१८ वर्ष मुनिकालाई सदस्य स्वीकृत नगरिने पनि उनको भनाइ छ।
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसलगायतले संसदमै विरोध गरेका थिए। यसबारे राष्ट्रिय मानव अधिकार आयोगलेसमेत रास्वपालाई पत्राचार गरेको छ।
यसछि रास्वपाले प्रष्टीकरण दिएको हो।
यस्तो छ प्रष्टीकरण-
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनको तथ्याङ्कलाई उद्धृत गर्दै १८ वर्षभन्दा कम उमेरका ३५,२५७ जना व्यक्ति पार्टीको सदस्य रहेको भनी केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ।
यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुन तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धी–सम्झौताबाट स्थापित बालअधिकार तथा बालबालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्न चाहन्छ।
बालबालिका सम्बन्धी ऐन,२०७५ को दफा २ उपदफा (ञ) ले १८ वर्ष पूरा भएको व्यक्ति साबालक मानिएको छ। त्यसैगरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (क) मा १८ वर्ष पूरा भएको भन्ने व्यवस्था साथै रष्ट्रिय स्वतन्त्र पार्टीको विधानको दफा १३ (क) बमोजिम १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मात्र पार्टी सदस्य हुने व्यवस्था रहेको छ। तसर्थ, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा पार्टी सदस्यका रूपमा संलग्न गराउने कार्य न राष्ट्रिय स्वतन्त्र पार्टीको नीति हो, न अभ्यास हो, न त कुनै संस्थागत उद्देश्य नै हो।
हाम्रो डिजिटल सदस्यता प्रणालीमा ‘सदस्यता आवेदन (Application)’, ‘प्रमाणीकरण (Verification)’ र ‘अन्तिम स्वीकृति (Approval)’ फरक–फरक प्रशासनिक तथा प्राविधिक चरणहरू हुन्। एप वा वेबसाइटमार्फत् सदस्यताका लागि जो कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था भए तापनि, त्यस्तो प्रारम्भिक आवेदन स्वतः सदस्यता स्वीकृत भएको मानिँदैन। सदस्यता अन्तिम रूपमा स्वीकृत हुनका लागि उमेर तथा राष्ट्रियता पुष्टि हुने नागरिकता वा अन्य आधिकारिक प्रमाण संलग्न गरी सम्बन्धित तहबाट प्रमाणीकरण सम्पन्न हुनुका साथै विधान तथा कार्यविधि बमोजिम तोकिएका सम्पूर्ण प्रक्रिया पूरा भएको हुनुपर्छ।
यसै सन्दर्भमा महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क पार्टीको डिजिटल सदस्यता प्रणालीमा रहेका प्रारम्भिक आवेदन विवरण (Self-declared application data) को समष्टिगत विश्लेषण मात्र थियो। उक्त तथ्याङ्क प्रमाणित तथा अन्तिम रूपमा स्वीकृत सदस्यहरूको आधिकारिक अभिलेख (Verified Membership Record) थिएन।
सदस्यता आवेदनका क्रममा विवरण स्वयं आवेदकले प्रविष्ट गर्ने व्यवस्था रहेकाले केही आवेदनहरूमा वि.सं. (Bikram Sambat) र ई.सं. (Anno Domini) पात्रो प्रणालीको गलत छनोट, जन्ममिति प्रविष्टिमा टाइपोग्राफिकल त्रुटि, जन्ममितिको सट्टा हालको मिति (Current Date) वा अन्य त्रुटिपूर्ण विवरण प्रविष्ट गरिएका कारण प्रणालीले केही आवेदकको उमेर वास्तविक भन्दा कम देखाएको अवस्था प्रारम्भिक विश्लेषणबाट खुलेको छ।
हाल पार्टीको डिजिटल प्रणालीमा दर्ता भएका कुल ५,२३,४६५ सदस्यता आवेदनमध्ये ३,९०,११२ सदस्यको विवरण नागरिकता लगायतका आधिकारिक कागजातका आधारमा सम्बन्धित तहबाट प्रमाणीकरण भइसकेको छ। बाँकी आवेदनहरू प्रमाणीकरणकै प्रक्रियामा रहेका छन्। त्यसैले प्रमाणीकरण नभइसकेका प्रारम्भिक आवेदन विवरणलाई नै अन्तिम तथा प्रमाणित सदस्यता अभिलेखका रूपमा बुझ्नु वा प्रस्तुत गर्नु तथ्यगत रूपमा यथार्थपरक हुँदैन।
यस विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यन्त गम्भीरतापूर्वक लिँदै सदस्यता प्रणालीको विस्तृत प्राविधिक तथा प्रशासनिक समीक्षा प्रारम्भ गरेको छ। भविष्यमा यस्तो त्रुटि दोहोरिन नदिन निम्न सुधारात्मक व्यवस्थाहरू तत्काल कार्यान्वयन गरिनेछः
• १८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई प्रणालीमार्फत् स्वतः पहिचान (Automatic Validation) गरी त्यस्ता आवेदनलाई सदस्यता स्वीकृतिको प्रक्रियामा अगाडि बढ्न नदिने प्राविधिक नियन्त्रण (Validation Control) लागू गरिनेछ।
• प्रमाणीकरण सम्पन्न भइसकेका अभिलेखको समेत पुनः परीक्षण (Re-validation) गरी आधिकारिक कागजातसँग पूर्ण रूपमा मेल खाने सदस्यता अभिलेख मात्र कायम गरिनेछ। यस क्रममा प्राविधिक वा मानवीय त्रुटिका कारण १८ वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइएमा त्यस्तो सदस्यता तत्काल खारेज (Revoke) गरिनेछ।
• वि.सं. तथा ई.सं. पात्रो प्रणाली सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक सुरक्षा तथा प्रणालीगत मार्गदर्शन (User Guidance) उपलब्ध गराइनेछ।
• प्रमाणीकरण बाँकी रहेका सम्पूर्ण आवेदनको सम्बन्धित आधिकारिक कागजातका आधारमा पुनः परीक्षण गरी कानुन र पार्टी विधान अनुरूप शुद्ध, अद्यावधिक र प्रमाणित सदस्यता अभिलेख कायम गरिनेछ।
पर्याप्त परीक्षण तथा प्रमाणीकरण सम्पन्न नहुँदै प्रारम्भिक आवेदन विवरणमा आधारित कच्चा तथ्याङ्क (Raw Data) महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुन पुगेकोमा र यसबाट आमनागरिक, सञ्चारमाध्यम तथा सम्बन्धित सरोकारवालामा भ्रम वा अन्योल उत्पन्न हुन गएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी दुःख व्यक्त गर्दछ। साथै, सम्पूर्ण विवरणको पुनः परीक्षण गरी आवश्यक संशोधन तथा अद्यावधिक तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
राष्ट्रिय स्वतन्त्र पार्टी विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालना गर्न सदैव प्रतिबद्ध रहेको पुनः स्पष्ट गर्दछ।
विपिन कुमार आचार्य, महामन्त्री।