कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।
उनी बिहीबार बिहान ७ बजेतिर भिमदत्त नगरपालिका-१८ बाट पक्राउ परेका हुन्।
अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई २०८२ जेठ १ गते गाली बेइज्जती मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवानाको फैसला सुनाएको थियो।
कञ्चनपुरकै किरण विष्टले उनीविरूद्ध गालीबेइज्जती मुद्दा दायर गरेका थिए। जिल्लाको फैसलाविरूद्ध भण्डारी उच्च अदालत गएका थिए।
उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतकै फैसला सदर गरी कैद सजाय ७ दिन कैद र २ हजार १०० थपिदिएको थियो।
सोही फैसला कार्यान्वयन गर्न पत्रकार भण्डारीलाई पक्राउ गरिएको डिएसपी रावतले बताए।
पक्राउपछि प्रहरी हिरासतमा राखिएका भण्डारीलाई केही बेरमा अदालतमा पेस गर्ने तयारी रहेको डिएसपी रावतले जानकारी दिए।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा आफूलाई जोडेर भ्रामक समाचार लेखेको भनेर किरण विष्टले खेम भण्डारीविरूद्ध मुद्दा दायर गरेका थिए।
किरण २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा कञ्चपुरका एसपी रहेका दिल्लीराज विष्टका छोरा हुन्। उनी पनि पत्रकार नै हुन्।
उच्चले जिल्लाको आदेश सदर गरेको झन्डै साढे २ महिनापछि प्रहरीले भण्डारीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराउन लागेको हो।