नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर पक्षका नेताहरू पूर्णबहादुर खड्का र शेखर कोइरालाले राखेका प्रस्तावमध्ये दुई वटा पूरा गर्न नसकिने जबाफ दिएका छन्।
हालै महामन्त्री गुरूराज घिमिरेसँगको बेग्लाबेग्लै भेटमा खड्का र कोइरालाले पार्टीको बृहत्तर एकता भन्दै विभिन्न प्रस्ताव अघि सारेका थिए। खड्का र कोइरालाका प्रस्ताव महामन्त्री घिमिरेले सभापति थापालाई सुनाएका थिए।
यो पनि- कांग्रेसभित्र मतभेद अन्त्य गर्न पूर्ण र शेखरको प्रस्ताव- १११ नेतालाई केन्द्रीय सदस्य र एकता समिति
सभापति थापाले नेता खड्का र शेखरलाई भेटवार्ता नगरी उनीहरूले अघि सारेका दुई वटा प्रस्ताव भने पूरा गर्न विधानले नमिल्ने र नसक्ने घुमाउरो बाटोबाट जबाफ दिएका छन्। तर १५ औं महाधिवेशनलाई सबैको बनाउनका लागि छलफल गर्न भने आफू तयार रहेको उनको भनाइ छ।
खड्का र कोइरालाले महामन्त्री घिमिरेमार्फत् १४ औं महाधिवेशनबाट निर्वाचित भएका तर गत पुसको विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिभन्दा बाहिर रहेका १११ जना नेतालाई केन्द्रीय सदस्य बनाउन तथा क्रियाशील अद्यावधिक नगरे पनि महाधिवेशनमा भाग लिन पाउने सुनिश्चित गर्न प्रस्ताव गरेका थिए।
नेता खड्का र कोइरालाको यो प्रस्ताव स्वीकार्न आफूलाई विधानले नदिने सभापति थापाको जबाफ छ। सभापति थापाले आइतबार नेपाली जनसम्पर्क समिति जापानको सातौं अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्दै आफूले विधानविपरीत हुने गरी आएका ती दुई प्रस्ताव स्वीकार गर्न नसक्ने बताएका हुन्।
विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्ष सहभागी भएका थिएनन्। कांग्रेसले असोजमा १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ।
१५ औं महाधिवेशनमा सहभागी हुनुअघि १४ औं महाधिवेशनबाट आएका र विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिलाई समायोजन गर्नुपर्ने, एकता समिति बनाउनुपर्ने, क्रियाशील अद्यावधिक नगर्नेलाई पनि महाधिवेशनमा सहभागी गराउनुपर्ने प्रस्ताव खड्का र कोइराला पक्षको छ।
‘केही नेताहरू असन्तुष्ट हुनुहुन्छ तर संवादबाट नै उहाँहरू १५ औं महाधिवेशनमा जाने वातावरण बन्छ भन्ने मलाई लाग्छ। महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउन के के गर्नुपर्ने हो त्यो गर्न म तयार छु,’ सभापति थापाले भने, ‘अधिवेशन तिथिमितिबारे छलफल गर्न तयार छु। सदस्यता, निर्वाचन र अनुशासन समितिमा को को राख्दा अधिवेशन निष्पक्ष हुन्छ भन्ने लाग्छ ल भन्नुस्।’
तर आफूले दुई वटा कुरा भने नगर्ने सभापति थापाले बताए।
‘तर म दुई वटा काम भने गर्दिनँ, क्रियाशील अद्यावधिक नगरौं भन्नुहुन्छ भने त्यो अब मिल्दैन, विधानले पनि मिल्दैन। अराजनीतिक पनि हुन्छ, यसलाई इगोको विषय नबनाऔं, यो सम्भव छैन, यसको पछि लागेर काम छैन,’ उनले संस्थापनइतर पक्षका नेताहरूलाई लक्ष्य गरी भने, ‘अर्को, १४ औं महाधिवेशनबाट आएका एक सय कति नेताहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा मिसाऔं भन्ने कुरा रहेछ, यो काम पनि म गर्न सक्दिनँ। यो व्यवहारिक र आवश्यक छैन। किनभने केन्द्रीय सदस्य भएर विशेष अधिकार अब केही प्राप्त हुँदैन, केन्द्रीय सदस्य र पदाधिकारी पनि अब वडाबाटै चुनिएर महाधिवेशनमा आउने हो।’
कांग्रेसले गत पुस १० गतेसम्म क्रियाशील नवीकरण गरेकामध्ये करिब ६ लाख क्रियाशीलको थप विवरण लिएर अद्यावधिक गरिसकेको छ। साउन ३ गतेसम्म नयाँ क्रियाशील वितरण गर्ने तयारी पनि छ।
सभापति थापाले नेताहरूलाई मनोनीत गरेर केन्द्रीय समितिमा ल्याउन भने सकिने बताए। विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा-कोइराला पक्षका १९ जना नेताहरूलाई यसअघि सभापति थापाले केन्द्रीय सदस्यसमेत मनोनीत गरिसकेका छन्। थप नेताहरूलाई पनि मनोनीत गर्ने तयारीमा संस्थापन पक्ष छ।
सभापति थापाले महाधिवेशन निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीका सबै समितिहरूमा सबै पक्षलाई समेटेर जान भने आफू तयार रहेको उनले बताए।
संस्थापनइतर पक्ष भने राष्ट्रिय भेला तयारीमा जुटेको छ।
संस्थापन पक्षसँग सहमति क्षिण बन्दै गएको भन्दै संस्थापनइतर पक्षका नेताहरू आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा जुटेर राष्ट्रिय भेला बोलाउनेबारे छलफल गर्दैछन्। साउन पहिलो साता राष्ट्रिय भेला बोलाउने तयारी रहेको संस्थापनइतर पक्षका केही नेताहरू दाबी गर्छन्। यसअघि देउवा र कोइराला पक्ष मिलेर प्रदेश भेलाहरू पनि भएका थिए।
संस्थापनइतर पक्षका नेताहरूले पार्टीको बृहत्तर हितका लागि संस्थापन पक्ष लचिलो भएर प्रस्तुत नभए १५ औं महाधिवेशन बेग्लाबेग्लै तवरले हुन सक्ने पनि चेतावनी दिने गरेका छन्।