शिक्षा मन्त्रालयले अनुमति नलिई ए-लेभल, सिबिएसई, आइबिडिपी लगायत विद्यालय तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्नेको विवरण माग गरेको छ।
बिहीबार अनुमति बेगर सञ्चालनमा रहेका यस्ता शैक्षिक संस्थाका बारेमा लिखित रूपमा इमेल गर्न मन्त्रालयले आह्वान गरेको हो।
मन्त्रालयको विद्यालय शिक्षा शाखाको इमेल ठेगाना school.edu.sec@moest.gov.np मा लिखित सूचना दिन मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलले सूचना जारी गरेका हुन्।
यस्ता कार्यक्रमहरू विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर मन्त्रालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।
तर केही शैक्षिक संस्थाले अनुमति नलिई प्रचलित कानुनी व्यवस्था विपरीत नै सञ्चालन गरिरहेको र अनुमति लिएको भनेर गलत सूचना दिएर प्रचारप्रसार गर्दै आएको पनि मन्त्रालयले बताएको छ।
मन्त्रालयले यसरी सञ्चालन हुँदै आएका शैक्षिक संस्थाबारे आन्तरिक रूपमा बुझ्ने काम गरिरहेको छ।
