नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे आयोजना हुने समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक अन्य सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्।
सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकाले आज अन्य पदाधिकारी तथा सदस्यहरूले शपथ लिन लागेका हुन्।
निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिने जानकारी दिएका छन्। उनका अनुसार नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै आजै पदबहालीसमेत गराइनेछ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा भएको थियो भने मतदान खुलामञ्च र राष्ट्रिय सभागृहमा गरिएको थियो।
महाधिवेशनको मतदान असोज २३ गते भएको थियो। सोही दिन राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरू गरिएको थियो। सभापति पदको मतगणनाको नतिजा असोज २४ गते बिहान सार्वजनिक भएको थियो।
अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा गरिएको थियो।
१४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको सदस्य सचिव कटुवालले जानकारी दिए।
यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको उनले बताए। कुल २२९ पदका लागि निर्वाचन भएको थियो भने ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो।
महाधिवेशनबाट गगन थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए।
त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।
त्यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। महाधिवेशनबाट समावेशी र प्राज्ञिक चरित्रको केन्द्रीय कार्यसमिति चयन भएको कांग्रेसले जनाएको छ।
शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ।
बैठकमा पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन्।