ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएको २४ घण्टा नबित्दै फ्लाभियो बोल्सोनारो चारवटा काला गाडीको लस्करमा हराए।
सोमबार साँझ ब्रासिलियास्थित निवासबाट निस्किएका गाडी सरकारलाई झुक्याउन फरक–फरक दिशातिर लागे। कुन गाडीमा बोल्सोनारो छन् भन्ने पत्ता लगाउन पत्रकार र सरकारी अधिकारीहरूलाई हम्मेहम्मे पर्यो।
भोलिपल्ट दिउँसोसम्म उनका सहयोगीहरूले उनी फ्लोरिडा पुगिसकेको बताउन थाले। ब्राजिल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनी देश छाडेर अमेरिका पुगेको समाचार आउन थालिसकेको थियो। तर त्यतिबेलासम्म उनी ब्राजिलमै थिए। उनलाई अमेरिका लैजान अर्जेन्टिनाको सीमापारि एउटा निजी विमान प्रतीक्षामा थियो।
बुधबार बिहानसम्म आइपुग्दा उनी परिवारसहित अमेरिकाको मायामी पुगिसकेका थिए। अदालतको देश छाड्न नपाउने आदेशका बाबजुद उनी कसरी ब्राजिलबाट निस्किए? यसका पछाडि राजनीतिक सम्पर्क, गोप्य समन्वय, झुक्याउने रणनीति र मध्यरातको निजी उडानको असाधारण योजना थियो।
चार गाडी, गोप्य सीमा पार र निजी विमान
बोल्सोनारोलाई अमेरिका पुर्याउने योजना सोमबारदेखि आकार लिन थालेको थियो। निर्वाचनमा पराजयपछि उनी पक्राउ पर्न सक्ने चिन्ता उनका सहयोगीहरूमा बढेको थियो। निर्वाचनअघि नै उनीमाथि विभिन्न आपराधिक अनुसन्धान चलिरहेका थिए। चुनावी हारपछि ब्राजिलको सर्वोच्च अदालतले उनलाई देश छाड्न रोक लगाउनुका साथै राहदानी बुझाउन आदेश दिएको थियो।
यही परिस्थितिमा उनका भाइ एडुआर्दो बोल्सोनारो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार जेसन मिलरसहित सीमित सहयोगीहरूले अर्जेन्टिनाबाट फ्लोरिडासम्म लैजाने निजी विमानको व्यवस्था गरे भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
मंगलबार बोल्सोनारो, उनकी पत्नी र दुई छोरी ब्राजिलको सीमावर्ती क्षेत्रतर्फ लागे। अर्जेन्टिनाका अधिकारीहरूका अनुसार राति १० बजेर ५० मिनेटमा उनीहरू ब्राजिल, अर्जेन्टिना र पाराग्वेको सीमा नजिक रहेको टान्क्रेडो नेभेस अन्तर्राष्ट्रिय पुल पार गर्दै अर्जेन्टिनाको पोर्टो इग्वासु पुगे।
त्यहाँ अर्जेन्टिनाको विमानस्थल सुरक्षा प्रहरीले उनीहरूको गाडीलाई इग्वासु फल्स अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्याएको थियो। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईका निकट सहयोगी सान्टियागो कापुतोले पनि अभियानको समन्वयमा भूमिका खेलेको विवरण सार्वजनिक भएको छ।
मिलेई ट्रम्प प्रशासन र बोल्सोनारो परिवार दुवैका निकट सहयोगी हुन्। उनले यसअघि ब्राजिलमा फ्लाभियोको चुनावी सभामा सहभागी हुँदै राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई ‘चोर’ भनेका थिए। त्यसपछि ब्राजिलले अर्जेन्टिनाबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो।
मध्यरातमा उड्यो गल्फस्ट्रिम
विमानस्थलमा बायरेस फ्लाई नामक चार्टर कम्पनीको गल्फस्ट्रिम जी ४०० निजी विमान तयार थियो। उडान विवरण अनुसार विमान एक दिनअघि नै ब्युनस आयर्सबाट पोर्टो इग्वासु पुगेको थियो।
मंगलबार राति ११ बजेर ३० मिनेटतिर बोल्सोनारो परिवार विमानमा चढ्यो। त्यसपछि एलभी–जे-क्यूडब्ल्यू उडान नम्बरको विमान इक्वेडरको ग्वायाकिलतर्फ उड्यो। त्यहाँ अमेरिका यात्राअघि इन्धन भर्न विमान रोकियो र बुधबार मध्यरातपछि विमान पुनः उड्यो।
आफुले हेरेको अर्जेन्टिनाको उडान विवरणमा बोल्सोनारो इटालीको राहदानी प्रयोग गरेर यात्रा गरिरहेको उल्लेख गरेको द वाल स्ट्रिट जर्नलले जनाएको छ। उनीसँग पत्नी र दुई छोरी पनि थिए।
बुधबार बिहान करिब साढे ९ बजे विमान फ्लोरिडाको मायामी–ओपा लकाका कार्यकारी विमानस्थलमा अवतरण गर्यो। विमानबाट ओर्लिएपछि बोल्सोनारो परिवारलाई प्रतीक्षामा रहेको एसयूभीमा राखेर लगियो। क्यामेराबाट जोगाउन सुरक्षाकर्मीहरूले छाता ओढाएर उनीहरूलाई विमानस्थलबाट बाहिर निकाले।
ट्रम्पको स्वीकृति, एक वर्ष बस्न पाउने अनुमति
बोल्सोनारो परिवारको अमेरिका प्रवेशका लागि ट्रम्पका सहयोगी, वरिष्ठ अमेरिकी अधिकारी र मिलेईको निकट समूहले समन्वय गरेको विवरणमा उल्लेख छ।
मंगलबार ट्रम्पले व्यक्तिगत रूपमा बोल्सोनारो र उनको परिवारलाई अमेरिका प्रवेश दिन स्वीकृति दिएपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले उनीहरूका लागि भिसा जारी गर्ने प्रक्रिया अघि बढाएका थिए। तर उनीहरू सामान्य भिसामा नभई मानवीय आधारमा दिइने ‘ह्युम्यानिटेरियन प्यारोल’ अन्तर्गत अमेरिका प्रवेश गरेको स्रोतहरूले बताएका छन्। यस व्यवस्था अन्तर्गत उनीहरू एक वर्षसम्म अमेरिकामा बस्न पाउनेछन्।
मायामी पुगेपछि बोल्सोनारोले आफूलाई ‘ब्राजिलको नेता’ भन्दै ट्रम्पलाई स्वागतका लागि धन्यवाद दिएका थिए। उनले अमेरिकालाई ‘स्वतन्त्रताको भूमि’ र मिलेईलाई ‘साहस तथा न्यायबोध भएको नेता’ भन्दै प्रशंसा गरे।
बाबुको बाटो पछ्याउँदै छोरा
अमेरिका पुगेका फ्लाभियोका पिता जायर बोल्सोनारो पनि सन् २०२२ को निर्वाचनमा लुला दा सिल्भासँग पराजित भएपछि अमेरिका पुगेका थिए। उनले हार स्वीकार गर्न अस्वीकार गरेका थिए र डिसेम्बर २०२२ मा फ्लोरिडाको ओर्लान्डो विमानस्थलमा अवतरण गरेका थिए। त्यहाँ साथीको घरमा करिब तीन महिना बसेपछि उनी ब्राजिल फर्किएका थिए।
पछि सत्तामा कायम रहन ‘कू’ गर्ने षड्यन्त्र गरेको अभियोगमा जायर दोषी ठहर भएका थिए। उक्त घटनाक्रमसँगै ब्रासिलियामा भएको विद्रोहले सन् २०२१ जनवरीमा अमेरिकाको क्यापिटलमा भएको हिंसात्मक घटनासँग तुलना निम्त्याएको थियो।
यसपटक फ्लाभियोको अमेरिका यात्रा पनि राजनीतिक संकट र कानुनी दबाबकै बीच भएको छ।
चार गाडीबाट सुरू भएको झुक्याउने रणनीति, अर्जेन्टिनाको सीमापारि तयार निजी विमान र ट्रम्प प्रशासनको सहयोगले उनलाई केही घण्टामै ब्राजिलबाट मियामी पुर्यायो। तर यो यात्राले ब्राजिलको कानुनी आदेश उल्लंघन भएको प्रश्नसँगै अमेरिका र दक्षिण अमेरिकी दक्षिणपन्थी नेताहरूबीचको निकट सम्बन्धलाई पनि फेरि चर्चामा ल्याएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)