नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरूद्ध पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ।
भट्ट ३५ वर्षमुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
नेता सौगात थापाले महाधिवेशन भएका बेला भट्टको उमेर ३५ भन्दा बढी भएको भन्दै उजुरी दिएका हुन्।
भट्टको जन्म २०४८ असोज १३ गते लमजुङको चक्रतीर्थ–८ मा भएको र जन्ममितिका आधारमा उनी ३५ वर्ष पुगे पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको दिनसम्ममा ३६ वर्ष पुगिसकेको उजुरीमा उल्लेख गरिएको छ।
भट्टले केन्द्रीय सदस्यमा असोज २० गते उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारी दर्ता गराउँदासम्म उनी ७ दिनअघि नै ३६ वर्ष पुगेको पाइएको उजुरीमा उल्लेख छ।
केन्द्रीय महाधिवेशन काठमाडौंको खुलामञ्चमा असोज १८ गतेदेखि सुरू भएको थियो। भट्ट क्षेत्रीय प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित भएका थिए।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को परिच्छेद ७ अन्तर्गत केन्द्रीय कार्यसमिति तथा केन्द्रीय कार्यसम्पादन समितिसम्बन्धी धारा २१ को उपधारा (१०) मा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था उल्लेख छ ।
३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिहरू मात्रै उम्मेदवार हुन पाउने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना तथा खुलातर्फ सात जना गरी कुल २१ जना सदस्य रहने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का (वरिष्ठ अधिवक्ता तथा केन्द्रीय सदस्य), सदस्यसचिव राजु कटुवाल (अधिवक्ता) र सदस्य सुजन लोप्चन छन्। सोही समितिमा भट्टविरूद्ध उजुरी परेको हो।
३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिको क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारको उमेरसम्बन्धी विवरण आधिकारिक नागरिकता तथा अन्य प्रामाणिक कागजातका आधारमा छानबिन गर्न उजुरीमा माग गरिएको छ।
प्रत्येक उम्मेदवारको उमेर मनोनयन दर्ता गर्दाको मितिलाई आधार मानी विधानमा तोकिएको उमेरसम्बन्धी योग्यता पूरा भए–नभएको यकिन गर्नुपर्ने उजुरीमा उल्लेख छ।
निर्धारित उमेरसीमा पूरा नगरेको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको उम्मेदवारी तथा निर्वाचनको वैधानिकता पुनरावलोकन गरी निर्वाचन परिणाम बदर गर्न र प्रचलित विधान तथा निर्वाचन नियमावलीबमोजिम आवश्यक कारबाही गर्न पनि उजुरीमा माग गरिएको छ ।
केन्द्रीय सदस्य भट्टको उमेरबारे जिज्ञासा राख्दा निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले असोज ३ गतेसम्म उनी ३५ वर्षकै रहेको बताए। केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउँदासम्म भने उनी ३६ वर्ष पुगिसकेको कटुवालको भनाइ छ। ‘नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया सुरू भएको समयलाई आधार मान्यौँ,’ कटुवालले भने।
भट्टले क्षेत्रीय अधिवेशन हुँदा आफू ३५ वर्षको रहेको प्रतिक्रिया दिएका छन्। अधिवेशनको सुरुवाती चरणमा आफू ३५ वर्षको रहेकाले विधानअनुसार उम्मेदवारी दिएको उनको जिकिर छ।
‘लोकसेवा आयोगको परीक्षा दिँदा एउटा उमेर हुन्छ। रिजल्ट आइपुग्दा अर्को उमेर हुन्छ। अधिवेशनको प्रारम्भिक दिनमा मेरो एउटा उमेर थियो। मेरो पनि त्यस्तै भएकाले उम्मेदवारी दर्ता गराउँदासम्ममा अर्को उमेर भएको हो,’ भट्टको भनाइ छ।