प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न माग गरेका छन्।
अहिले मजदुर वर्गमाथि दुर्व्यवहारका घटनासमेत हुने गरेको पाइएको बताएका छन्।
‘महानगर प्रहरीले गर्ने प्रताडनका कारण गणेश नेपाली पीडामा रहेको र त्यसकै कारणले डिप्रेसनमा रहेको परिवारको कुरा आयो। घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,’ उनले पत्रकारहरूसँग भने, ‘तर अहिले आफूलाई बढ्ता देखाउने हिसाबमा राज्य या राज्यका कुनै पनि निकायले काम गरेर खाने मजदुर वर्गलाई दुर्व्यवहार गर्ने खालका क्रियाकलाप गरिरहेका छन्। यो राम्रो होइन। राज्यको दायित्व काम गरेर खाने जनताको पक्षमा हुनुपर्ने हो तर त्यसको विपरीत देखिएको छ।’
आङ्देम्बेले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति निम्तिनुको कारण बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।
‘गणेशले बोल्न सकुञ्जेल परिवारलाई ‘मलाई यसरी प्रताडित गरिएको छ’ भनेका रहेछन्। यसको गम्भीरतापूर्वक छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ। यो खालको अवस्था रहिरह्यो भने राम्रो हुँदैन,’ उनले भने।
राइड–सेयरिङ चालकहरू स्वरोजगार भएको र उनीहरूमाथि राज्य पक्षबाट भएको दुव्यर्वहारको आङ्देम्बेले भर्त्सना गरेका छन्।
‘राइड–सेयरिङ भनेको दुई छाक खानका लागि दुःख गरेर कमाउने र परिवार पाल्ने मजदुरहरूले प्रयोग गर्दै आएको प्लेटफर्म हो तर तिनै मजदुरहरूलाई सडक किनारामा मोटरसाइकल पार्किङ गरेको भन्दै राज्यले दुव्र्यवहार गर्नु ठिक होइन,’ उनले भने।
आङ्देम्बेले गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। राइड शेयरिङ चालकहरूमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।