प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राइड सेयरिङ चालक गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्री बालेन शाहको मौनता किन भन्दै प्रश्न गरेको छ।
राहदानी विभागअघि बिहीबार भएको घटनामा प्रधानमन्त्री मौन रहेको प्रमुख सचेतक बासना थापाको भनाइ छ।
‘हिजोको घटनामा तपाईंको मौनता किन प्रधानमन्त्रीज्यू, विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जबाफ दिन किन टाढा हुनुहुन्छ?,’ उनको प्रश्न छ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले २०७९ माघ १० गते प्रेम आचार्यले संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गर्दा काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहले लेखेको स्टाटस सम्झना छ कि छैन भनेर पनि सोधेकी छन्।
राज्य आतंकका कारण एक युवाले आफ्नो शरिरमा आगो सल्काउँदा राज्य मुकदर्शक भएको उनको भनाइ छ।
‘शरीर आयोगमा जलिरहेको छ, राज्यले एम्बुलेन्स पठाएन। बरू प्रहरी प्रशासन लगाएर अपराधीझैंं घिसारेर लग्यो,’ उनले भनिन्, ‘म सरकारलाई सोध्न चाहन्छु- यो उद्धार हो कि गिरफ्तारी हो? के ऊ देशद्रोही हो? उसको गल्ती यही हो कि यो देशमा जन्मियो र यहीँ काम गर्यो।’
उनले बहादुर युवाले विद्रोह गरेको पनि बताइन्।
बिहीबार धोबी खोलामा हामफालेर एक सुकुम्बासी महिलाको मृत्यु भएको पनि उनको भनाइ छ।
‘म तपाईंकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, के राज्य यति निरिह र असफल भइसकेको हो? यदि होइन भने यस्ता घटना किन दोहोरिरहेका छन्। अब कालो चस्मा खोल्ने बेला आएको छ, साझा बसको हरियो बसमा निलो पोतेर नागरिकले सुरक्षा महसुस गर्दैनन्। सुरक्षा तब हुन्छ, जब राज्यले न्याय दिन्छ, सुशासन कायम गर्छ।’