विराटनगरमा बसेर अपराध कर्ममार्फत अवैध आर्जनको आरोप लागेका अभिषेक गिरी प्रहरी नियन्त्रणमा परेलगत्तै उनीविरुद्ध उजुरी आउने क्रम तीव्र भएको छ।
प्रहरीका अनुसार पीडितहरू धमाधम प्रहरीको सम्पर्कमा आउन थालेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी कबित कटवालका अनुसार गिरीविरुद्ध निरन्तर नयाँ तथ्य र उजुरीहरू प्राप्त भइरहेका छन्।
प्रारम्भिक छानबिनका क्रममा गिरीले कारागारभित्र सञ्चालन गरेको आर्थिक शोषणदेखि लिएर निर्माण व्यवसाय क्षेत्रमा गरेका ठगी र आपराधिक विश्वासघातका अनेकौं शृंखलाहरू फेला परेको प्रहरीले जनाएको छ।
एसपी कटवालका अनुसार प्राप्त विवरणहरूले गिरीका गतिविधिहरू कुनै एउटा घटनामा मात्र सीमित नरहेको प्रस्ट्याउँछन्। कारागारभित्र रहँदा होस् या जेलमुक्त भएपछि, उनले विभिन्न संयन्त्र प्रयोग गरेर आफ्नो आर्थिक प्रभाव कायम राखेको सूचना प्रहरीले पाएको छ।
यसैका आधारमा अहिले अनुसन्धानको दायरालाई थप व्यापक बनाइएको प्रहरी भनाइ छ।
एक सातासम्म मोरङ प्रहरीको हिरासतमा रहेका गिरीलाई अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नियन्त्रणमा लिएर ठगी तथा आपराधिक विश्वासघातको कसुरमा छानबिन गरिरहेको छ।
अनुसन्धान अधिकारीहरूका अनुसार गिरीविरुद्ध आएका अधिकांश उजुरीहरू उनी मोरङ कारागारमा रहँदाका घटनासँग सम्बन्धित छन्। कारागारमा चौकीदारको शक्तिशाली भूमिकामा रहँदा उनले कैदीबन्दीहरूमाथि चर्को आर्थिक दबाब दिने गरेको, विभिन्न बहानामा रकम असुल गर्ने गरेको, कैदीका परिवारहरूलाई समेत मोटो रकम पठाउन बाध्य पारेको खुलेको छ।
मुक्त भइसकेका कतिपय पूर्वकैदीहरूका अनुसार गिरीले नयाँ आउने बन्दीहरूलाई सुरुदेखि नै डरत्रास देखाउने, पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने र घरबाट रकम मगाउन लगाउने गरेका थिए।
छानबिनका क्रममा कारागारभित्रका विभिन्न पक्षहरूमा अस्वाभाविक शुल्क असुली र अनियमितता भएको आशङ्कामा प्रहरीले अध्ययन थालेको छ।
जसअनुसार कैदीबन्दीका लागि आउने दैनिक सेवा-सुविधा र श्रमको आम्दानी, कारागारभित्र सञ्चालित टेलिफोन सेवा, दैनिक उपभोग्य वस्तु तथा अन्य आन्तरिक सुविधाहरूबारे छानबिन थालेको प्रहरी भनाइ छ।
कारागारभित्रको मात्रै होइन निर्माण व्यवसायीहरूलाई ठगी गरेको र आपराधिक विश्वासघात गरेको मुद्दामा सिआईबीले अलग्गै अनुसन्धान गरिरहेको छ। गिरीमाथि सरकारी ठेक्कापट्टा पारिदिने प्रलोभन देखाएको, निर्माण उपकरणहरू जबर्जस्ती नियन्त्रणमा लिएको, गाडीहरू बिक्री गरेको र सम्पत्ति आफ्नो नाममा हस्तान्तरण गराएको जस्ता गम्भीर आरोपहरू छन्।
प्रहरीका अनुसार डिजिटल सबुत, बैंक खाताको विवरण, सम्पत्ति हस्तान्तरणका कागजपत्र र सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा घटनाको प्रमाणिकरण गर्ने काम भइरहेको छ।
यसअघि अपहरण तथा शरीर बन्धक उद्योगको मुद्दामा जेल सजाय भुक्तान गरेर गिरी २०७९ सालमा रिहा भएका थिए।
कारागारबाट छुटेपछि उनले एउटा सामाजिक संस्था खोलेर विद्यालय तथा विभिन्न सार्वजनिक कार्यक्रममा सहयोग गर्दै आफ्नो छवि सुधार्ने प्रयास गरेका थिए। तर, सामाजिक कार्यको आवरणभित्र उनका आपराधिक गतिविधिहरू भने निरन्तर चलिरहेको प्रहरी दाबी छ।