नेपाली कांग्रेसका नेता नैनसिंह महरले राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा नागरिकको अधिकार, सम्मान र सुरक्षालाई बेवास्ता गर्न थालेको बताएका छन्।
महरले गणेश नेपालीको मृत्यु घटनामा दुःख व्यक्त गर्दै यस्तो घटना कुनै एक व्यक्तिको मात्रै दुःखद अन्त्य नभई राज्य सञ्चालनको शैली प्रतिको गम्भीर चेतावनी भएको बताए।
उनका अनुसार दुईतिहाइको सरकार गठन हुँदा जनताले स्थायित्व, सुशासन र सहज सेवा प्रवाहको अपेक्षा गरेका थिए। तर व्यवहारमा राज्यका विभिन्न संयन्त्रले कानुनको सन्तुलित कार्यान्वयनभन्दा पनि सरकारलाई खुसी पार्ने उद्देश्यले आवश्यकताभन्दा बढी सक्रियता र कठोरता प्रदर्शन गरेको देखिएको छ।
महरले पुनर्स्थापनाको स्पष्ट योजना र पर्याप्त संवादबिना सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यले नागरिकमा त्रासको वातावरण सिर्जना गरेको उल्लेख गर्दै यस्ता घटनाले जनविश्वास कमजोर बनाएको बताए। उनले गणेश नेपालीको आत्मदाहलाई पनि राज्यप्रतिको बढ्दो निराशा र असुरक्षाको संकेतका रूपमा व्याख्या गरे।