राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले प्रतिनिधिसभामा सरकारलाई ट्रक साहित्य सुनाएकी छन्।
मंगलबार प्रतिनिधिसभामा गणेश नेपाली, विवेक मण्डल र अस्विन रावलप्रति श्रद्धान्जली दिएर सुरू गरेकी रिमाले त्यसपछि सरकारलाई ट्रक साहित्य सुनाएकी हुन्।
‘हामीले अकालमै फेरि एउटा भाइ गुमाएका छौँ। दिवंगत गणेश नेपाली साथै विवेक मण्डल र अस्वित रावल प्रति हार्दिक श्रद्धान्जली। देशभरि बढ्दै गएका आत्मदाहका घटनाहरूले देशमा मानसिक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गरिदिएको छ,’ उनले भनिन्।
उनले सरकार कतै हतार गरिरहेको त छैन भन्दै प्रश्न पनि गरेकी छन्।
‘नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन? जसका लागि कानुन बनाउँदै छौँ कतै उनीहरू नै त्यसको मारमा त परिरहेका छैनन्? के साँच्चै नागरिकले आफ्ना पीडा सुनाउन र न्याय पाउन यस्तो आत्मघाती कदम चाल्नुपर्ने अवस्था आएको हो?,’ उनले प्रश्न गरेकी छन्।
अनि बल्ल उनले सरकारका नाममा ट्रक साहित्य सुनाएकी हुन्।
‘एक्सप्रेस वेमा तीब्र गतिमा अघि बढेको सरकारलाई म एउटा ट्रक साहित्य सुनाउन चाहन्छु- हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ।’
उनले सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि अब सरकारको प्राथमिक एजेण्डाका रूपमा स्थापित गर्न जरूरी रहेको भन्दै सम्झाएकी छन्।
‘राजनीतिक दायित्व सँगै हामीले सामाजिक र नैतिक जिम्मेवारीलाई पनि गम्भीरताका साथ आत्मसात गर्न जरूरी छ,’ उनले भनिन्।
उनले दलित समुदायलाई सरकारले गर्नुपर्ने व्यवहारबारे बोल्दा बोल्दै माइक काटियो।