नेकपा एमाले सांसद यशुधा कुमारी बरालले लामो समयपछि संसदमा प्रधानमन्त्रीको उपस्थिति देखेर खुसी लागे पनि उनी दुई मिनेटभन्दा बढी टिक्न नसकेर बाहिरिएकोमा आपत्ति जनाएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले बोलिरहँदा प्रधानमन्त्री बालेन शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँगसँगै हलमा प्रवेश गरेका थिए।
'म आज एकदमै खुसी भएको थिएँ,' एमाले सांसद बरालले भनिन्, 'प्रधानमन्त्रीज्यूको उपस्थितिले अब हामीले भोलिदेखि ढ्यापी ढ्यापी समय प्रयोग गर्नुपर्दैन कि, उहाँले जबाफ दिनुहुन्छ कि भनेर मलाई खुसी लागेको थियो।'
उनले अगाडि भनिन्, 'तर उहाँ दुई मिनेट पनि हाम्रो कुरा सुन्न नसकेर बाहिरिनुभयो।'
सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि प्रधानमन्त्री शाह संसद बैठकमा सामेल भएको यो पहिलो पटक हो। करिब पौने २ बजेतिर संसद बैठकमा प्रवेश गरेका उनी २० मिनेटभन्दा बढी बसेनन्।
एमाले सांसद बरालले गणेश नेपालीको आत्मदाह घटनामा सरकारले सबै दोष काठमाडौं महानगरपालिकामाथि थोपर्ने खोजेकोमा आपत्ति पनि जनाइन्।
'के काठमाडौंमा हुने यस्ता हरेक घटनाको दोष काठमाडौं महानगरपालिकामाथि नै थोपर्ने हो?' उनले प्रश्न गरिन्।
गृहमन्त्री सुधन गुरूङले संसदको रोस्ट्रममै उभिएर स्थानीय तहमा कसको सरकार छ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको उनले बताइन्।
'यो सम्मानित सदनमा हामी गीत गाउन आएका होइनौं, ब्याटल हान्न आएका होइनौं। हामीलाई घोक्रो सुक्ने गरी कराइयो भनेर भनियो। त्यस्तो अभिव्यक्तिलाई रेकर्डबाट हटाइयोस्,' बरालले भनिन्, 'प्रतिपक्षीले बोल्दा शब्द शब्दमा नियमापत्ती गरिन्छ। प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिँदा र गृहमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिँदा नियमापत्ती हुँदैन। त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गर्दा पनि सुनुवाइ हुँदैन।'