प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले संसदप्रति प्रधानमन्त्री जबाफदेही हुनुपर्ने भनिरहेका बेला प्रधानमन्त्री बालेन शाह मंगलबार प्रतिनिधिसभा बैठकमा पुगेका छन्।
प्रधानमन्त्री शाह रास्वपा सभापति रवि लामिछानेसँगै प्रतिनिधि सभा बैठक कक्ष पुगेका हुन्। त्यति बेला राप्रपा प्रमुख सचेतक खुस्बु ओली बोलिरहेकी थिइन्।
झन्डै पौने २ बजे संसदमा प्रवेश गरेका प्रधानमन्त्री शाह करिब २० मिनेट बैठकमा सहभागी भएर निस्केका छन्। उनले संसदमा केही सांसदहरूका कुरा सुनेका थिए।
गत जेठ १७ गतेदेखि प्रधानमन्त्री शाह प्रतिनिधि सभा बैठकमा उपस्थित थिएनन्। 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएपछि उनको यो अभिव्यक्ति पुष्टि गर्ने प्रमाण वा यो अभिव्यक्ति रेकर्डबाट हटाउन प्रतिपक्षी दलहरूले दिनहुँ माग गरिरहेका छन्।
यसबीच रास्वपाको प्रथम महाधिवेशन चितवनमा भयो। उक्त मञ्चबाट प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्ति प्रस्ट्याउन खोजेका थिए तर प्रतिपक्षी दलहरूले संसदमा दिएको अभिव्यक्तिबारे संसदमै जबाफ दिनुपर्ने माग राखिरहेका छन्।
यस्तो बेला संसद पुगेका प्रधानमन्त्री शाह करिब २० मिनेट बसेर निस्किएका हुन्। उनी संसदबाट बाहिर निस्कँदा रास्वपाका दुई सांसद इन्दिरा राना मगर र निशा डाँडीसँग केही बेर कुराकानीसमेत गरेका थिए।