नेकपा एमालेका प्रमुख सचेतकले आफूलाई गोली हान्ने धम्की आएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महरले आफूले सरकारको आलोचना गरेको मन नपराएकाहरूले गोली हान्ने धम्की दिएको बताएका हुन्।
‘हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौं। जनताका कुरा बोल्न। हामी निरपेक्ष रूपमा विरोध गर्दैनौं। हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं,’ उनले भने, ‘तर बिडम्बना सदनमा बोलिरहँदा सरकारको विरोध गरेको केही मान्छेहरूलाई आभाष हुँदो रहेछ। मलाई निरन्तर धम्की आइरहेको छ, फेसबुक र फोन। गोली हान्दिन्छु, मार्दिन्छु भनेका छन्।’
उनले आफूले फेसबुकमा राखेको स्टाटसको कमेन्टमा आफ्नो नम्बर र ठेगाना समेत राखेर दुई जनाले गोली हान्ने धम्की दिएको बताएका हुन्।
‘भर्खरैमात्रै दुई जनाले स्टाटसमा कमेन्ट गर्नुभएको छ र ‘ऐन महर आम्मा कसम तलाईं म गोली हानेर मार्छु’ भनेर आफ्नो नाम दिनुभएको छ। आफ्नो ठेगाना पनि दिनुभएको छ। नाम पराजुली राम भन्ने आइडीबाट आएको छ,’ उनले भने, ‘९७०३...... आफू चाहि काठमाडौं बौद्ध-६ महांकाल चोक संगम टोल बस्ने भन्नुभएको छ। यो कुरा म सदनलाई जानकारी गराउन चाहन्छु। त्यसैगरी, पूर्णबिक्रम क्षेत्रबाट पनि गोली हान्ने धम्की आएको छ।’