राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई २०१६ सालमा सभामुख हुँदाको प्रसंग सुनाएर विपक्षी दलका सांसदहरूलाई कटाक्ष गरेका छन्।
मंगलबार उनले संसदमा विपक्षीहरूले राजनीतिक अभिष्ट पूरा गर्न कहिले सिमाना वा कहिले आत्मदाहको मुद्दालाई तोडमोड गरेर उठाउने गरेको भन्दै लामो भूमिका बाँधे।
र अन्त्यमा प्रमुख प्रतिपक्षी दलका दुई सांसदलाई कटाक्ष गर्दै भने- २०१६ सालमा नेपालको संसदमा कृष्णप्रसाद भट्टराई सभामुख हुँदा भन्नुभएको रहेछ- सदनमा लेखेर ल्याएका कुराहरू म पढ्न दिन्नँ। संसदको मर्यादा त्यसरी पनि कायम हुन्छ। होइन भने संसदमा दुई जना सांसदले कतैबाट एउटै कुरा लेखेर ल्याउँछन् र पढ्छन्।
केही दिन अघि नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापा र अर्की सांसद सीता थपलियाले संसदमा बोलेको भाषण हुबहु मिलेको भनेर चर्चा भएको थियो। उनीहरू दुवैले लिखित भाषण पढेका थिए।
यसबाहेक सांसद कार्कीले संसदमा उठाउने विषय फगत राजनीतिक अभिष्ट पूरा गर्न मात्र भएको भनेर गुनासो गरेका थिए।
संसदमा बोलिने, उठाउने कुराहरू गम्भीर र ओजिला हुनुपर्ने उनको मत छ।
‘शक्ति पृथकीकरणले भन्छ संसदको आफ्नै काम छ। संसदले कानुन बनाउँछ, सरकारको निगरानी गर्छ। यी प्राविधिक कुराहरू हुन्। त्योभन्दा फरक लोकतन्त्र राजनीतिलाई हेर्ने हो भने संसद भनेको जनताको आशा हो। नागरिकको आश पोख्ने ठाउँ हो। पुराना पुस्ताको सम्मान गर्ने अहिलेका पुस्ताको सुख/खुसी बढाउने र अबको जन्मिँदै नजन्मेका पुस्ताको लागि पनि सम्भावना कायम राख्ने आशा जगाउने ठाउँ यो संसद हो,’ उनले भने, ‘यो संसदलाई हामीले सत्यका आधारमा तथ्यका आधारमा हामीले चलाउनुपर्ने हुन्छ तर मिथ्यांक तोडमोड गरिएका तर्कहरू र अभिनयले संसदको बाटो नै हामीले मानेको लोकतन्त्रभन्दा अलग्गै हिँडिरहेको छ।’
उनले यसै विषयमा प्रधानमन्त्रीले केही समयअघि नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको भाषणपछि उठेका सवालहरूबारे पनि कुरा उठाए।
‘यहाँ पटकपटक आवाज उठ्यो, यहाँ प्रधानमन्त्रीले बोलेका कारणले सुस्तामा सिमाना मिचियो भनेर,’ उनले भने, ‘तर २०४० सालमा मुन्ना खान त्यही सुस्ताको सिमाना जोगाउन ६ वटा गोली खाएका छन्। हामीले यहाँ मिथ्यांक भन्दै गर्दा हाम्रो सिमानामा वर्षौंदेखि आफ्नो शरीरमा गोलीको दाग बोलेर बसिरहेछन् तिनको अपमान पो गरिरहेका छौं कि? हामीले यति पनि ख्याल गरेनौँ।’
उनले अघि भने, ‘लोकतन्त्र हाम्रा लागि फरक विषय प्रतिपक्षमा बस्दा मात्रै हुन्छ। होइन भने यहाँ हामी सबैलाई पीर परिरहेको सुस्ताका मुन्नाखानको शरीरमा ६ वटा गोली छ तर नागरिकता पाएका छैनन्। हामीले मानेको लोकतन्त्र र हामीले गरेको ढोङ हाम्रा मिथ्यांकमा प्रकट नहोऊन्,’ उनले भने।
केही दिनअघि गणेश नेपालीले गरेको आत्मदाहलाई विपक्षीले राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यले उठाइरहेको उनको आरोप छ।
‘अर्को छ गणेश नेपालीको आत्महत्याको कुरा बितेका तीन दिनमा तीन जनाले आत्मदाह गरे भनियो। तर बितेका तीन दिनमा नेपालको तथ्यांक हेर्ने हो भने १८ गुणा ३ जनाले आत्महत्या गरेका छन्। अझ नेपालको तथ्यांक हेर्ने हो भने ६० जनाले आत्महत्या गरेका छन्। ती ६० जनामा टपक्क ३ जनालाई टिपेर कुरा गर्नु कि दृष्टि भ्रम हो कि राजनीतिक अभिष्ट हो। होइन भने जसरी हामीले कल्पना र तर्क गरिरहेका छौँ गरिबीका कारणले आत्महत्या हुँदैन। हुन्थ्यो भने संसारको खुसी सम्पन्न भनेर मानिने फिनल्याण्डमा हरेक १ लाखमा १४ जनाको आत्महत्याबाट मृत्यु हुन्नथ्यो होला। यसको कारण अलग्गै छ भन्ने मान्दा राजनीतिक अभिष्ट पूरा हुँदैन। होइन भने, त्रिपुरेश्वरमा आत्मदाह गरेका व्यक्तिको सबैलाई नाम थाहा भइसक्यो राजनीतिक रूपमा कहाँ प्रयोग गर्ने थाहा भइसक्यो तर त्यही दिन धोबिखोलामा हाम फालेर आत्महत्या गर्नेको नाम कसैलाई थाहा छ?,’ उनले सोधे, ‘एकै दिन दुई किलोमिटर बीचमा आत्महत्या गरेका व्यक्तिबीच यो संसदमा यति धेरै फरक किन? त्यसैले विषयलाई अर्कै ठाउँमा लगियो भने पुग्न पर्ने ठाउँमा पुग्दैनौँ।’
त्यही भएर सदनमा उठाउनुपर्ने विषयहरू गम्भीर, तर्कसंगत, तथ्यपरक र सैद्धान्तिक हुनुपर्ने उनको मत छ।