सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।
श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी अध्यक्षमा नियुक्त गरिएको हो।
सरकारले बीउ बिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ।
मन्त्री पोखरेलकाअनुसार सरकारले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ।
अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय भएको बताए। –न्युज एजेन्सी नेपाल