रास्वपा सांसद विपिनकुमार आचार्यले संसदले पनि आफ्नो समीक्षा गर्ने बेला आएको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको सय दिन पुगेपछि 'हनिमुन पिरियड' सकिने बताए।
‘१०० दिन पुगेपछि सरकारको समीक्षा गर्ने अभ्यास छ। संसद्को हकमा चाहिँ 'हनिमुन पिरियड' भनेर सुनेजस्तो लाग्दैन। खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला चाहिँ भयो कि जस्तो लाग्छ,’ उनले भने।
संसद् सुरू भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो, सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए, संसदीय समितिहरूले कति काम गरे, संसदमा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए, सांसदहरूको प्रस्तुति कस्तो रह्यो, प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन सत्तापक्ष, सरकार र प्रतिपक्षले कतिपटक गरे ? ती उल्लङ्घनलाई संसद्ले कसरी लियो ? संसद्को गरिमा बढ्दो क्रममा छ कि घट्दो, एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ कि हाम्रो सामूहिक मिहिनेत पुगेन भन्ने जस्ता विषयमा समीक्षा आवश्यक रहेको उनको भनाइ छ।
उनले संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ भएको बताए।
‘त्यसैले हामी सही दिशामा छौँ वा छैनौँ? यी सबै विषयको समीक्षा गर्न म सभामुखज्यूसँग आग्रह गर्दछु,’ उनले भने।