प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुक विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले जनताको मुख्य चाहना विकास र सुशासन रहेको तर अहिले सरकार त्यो मुद्दाभन्दा लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको बताएका हुन्।
'यस्ता गतिविधिले देश बन्दैन देश बर्बादीको दिशामा जान्छ । यो विषयमा हामीले बेलैमा सोच्न जरुरी छ,' उनले भने।
सांसद शाहीले विगतमा पनि त्यस्ता केही गतिविधिहरु भएको र त्यसले राजनीतिक संस्कारमा फेरबदल भएको बताए।
' मुख्यगरी संविधान जारी भइसकेपछि एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने, संसदमा उग्र रुपमा गाली गलौजको तहमा उत्रिने जुन परिस्थिति सिर्जना भयो,' उनले भने।
अहिले पुराना राजनीतिक पार्टीहरुले केही गरेनन् र सबै बिगारे बर्बाद गरे भन्ने कुराको भाष्य सिर्जना गर्न सजिलो भए पनि अहिले सरकारले के गर्यो भन्ने प्रश्नको जबाफ दिन गाह्रो भएको बताए।
'अहिले सरकारको विषयमा प्रतिपक्षीहरुले जे कुराहरु उठाएका छन् त्यसलाई दुस्मनी ठान्ने र आलोचनालाई सहनै नसक्ने र प्रतिरोधमा उत्रिने भन्दा सरकारको मुख्य जिम्मेवारी भनेको सरकारका तमाम समस्याहरुको सम्बोधन गर्नु हो,' उनले भने।
उहाँले प्रतिपक्षका आरोपको प्रतिरोधमा उत्रिनुभन्दा सुशासन र सेवा प्रवाह सुधारमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए।