राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधानमा असफल भएको आरोप बताए।
बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेता सुवेदीले सञ्चारगृहमाथिको अवरोध, नागरिकको आत्मदाह र सुकुम्वासी समस्या समाधानमा सरकार असफल भएको आरोप लगाएका हुन्।
‘सञ्चार गृहको मूल प्रवेशद्वारमा सवारी साधन छाडेर सञ्चारकर्मीलाई त्रसित बनाउन खोजिएको छ । देखिने शासक असफल भएपछि नदेखिने शासक अर्थात् ‘डिप स्टेट’ सक्रिय भएको आभास भइरहेको छ । तपाईंको शासनमा गणेश नेपाली र विवेक मण्डलहरूले किन शरीरमा आगो लगाउनुपर्ने? के यही हो सुशासन ? कानुन कार्यान्वयन गर्दा मानवतालाई पनि जीवित राख्न जरुरी छ,' उनले भने।
असार २९ गते कान्तिपुर मिडिया हाउस, अनलाइन खबर र हिमालय टेलिभिजनका साथै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी अवरोध पुर्याइएको घटनाप्रति सुवेदीले आपत्ति जनाए।
उनले यसलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र मनोवैज्ञानिक आतंकको संज्ञा दिए। यस्ता गम्भीर घटनामा संलग्नलाई सामान्य जरिवाना मात्र गरेर छोडिएको भन्दै सरकारको कामकारबाहीमाथि प्रश्न उठाए।
असार २५ गते मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा गरेको आत्मदाहको घटनालाई सुवेदीले राज्यको असफलताको संकेतका रूपमा चित्रण गरे।