आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहले उक्त घटनालाई राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा र विपक्षीको षड्यन्त्रको परिणाम भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत बिहीबार साहले आफूलाई चरित्र हत्या गर्ने उद्देश्यले प्रशासनलाई समेत गुमराह बनाइएको आरोप लगाएका छन्।
उनले आफूले नगरेको कामको आरोप आफूलाई नलाग्ने विश्वास व्यक्त गर्दै नेपालको संविधान, कानुन र न्यायालयप्रति पूर्ण आस्था रहेको बताएका छन्।
'आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो। केही दिनमै सत्यता बाहिर आउनेछ। कानुनले निर्वाध रूपमा आफ्नो काम गरोस्, म मेरो भागको कानुनी लडाइँ विधिसम्मत रूपमा लड्नेछु र कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्न तयार छु,' उनले लेखेका छन्।
साहले आफ्नो राजनीतिक जीवनमा प्राप्त जनसमर्थन र विश्वासप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि जनताको सेवामा विचलित नभई लागिरहने प्रतिबद्धता जनाएका छन्।
साहमाथि कृष्ण नगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको सामूहिक आक्रमणमा संलग्न रहेको आरोप थियो।
सांसद साह र कृष्ण नगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह सहित १५/२० जनाको समूहले आफ्नो घरमै आएर आफूमाथि कुटपिट गरेको भन्दै शर्माले दुई दिनअघि प्रहरीमा उजुरी दिएका थिए।
शर्माको उजुरीपछि प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले साह विरूद्ध मुद्दा दर्ता भएर अदालतबाट पक्राउ पुर्जी जारी भएको बताए।
‘साहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ, प्रहरीले पक्राउ गर्ने तयारीमा छ,’ उनले भने।
साह कपिलवस्तु क्षेत्र नंं ३ बाट नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।