नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित 'हेण्ड्स अफ एशिया' अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन्।
सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे गम्भीर विश्लेषण गरेका थिए।
बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाकाबीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसको राजनीतिक रूपरेखासमेत प्रस्तुत गरेका थिए।
सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण कार्यक्रमका कडा सर्त र अनुशासनको सामना गर्दै जनपक्षीय विकासको वैकल्पिक मार्ग कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए।
मार्क्सवादी लेखक, इतिहासकार तथा 'ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च' का संयोजक विजयप्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई एउटै साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको विस्तृत चित्र प्रस्तुत गरेका थिए।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुनेछ। सम्मेलनका क्रममा श्रीलंकामा रहेका प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
यसैक्रममा सम्मेलनको साइडलाइनमा उनले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकबाट सहभागी शीर्ष वामपन्थी नेताहरूसँग भेटवार्ता गरेका छन्।
सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट 'वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका' विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गरेको आयोजकले जनाएको छ।