नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी नभएको भन्दै आगामी दिनमा नविकृत हुँदै अघि बढ्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेकपा (एमाले) अर्कालाई नसमातिकन उठ्न नसक्ने लहरो नभएको भन्दै आफ्नै बुतामा अगाडि बढ्ने बताए।
उनले पार्टी र कार्यकर्ता पंक्तिलाई पर्याप्त प्रशिक्षित गर्न नसकेको कारण पार्टी कमजोर बनेको समेत बताए।
उनले पार्टीमा आइटी प्रशिक्षण गर्न नसक्दा सूचना र प्रविधिको हमलामा पछि परेको बताए।
उनले एमालेलाई अप्ठ्यारोतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै पार्टीको पुनर्जागरण र पुनःउत्थानमार्फ त्यसलाई पराजित गर्नुपर्ने बताए।
‘हामी यस्तो लहरो होइनौँ जसले अर्कालाई नसमातिकन उठ्न सक्दैन। हामी एउटा स्वतन्त्र वृक्ष हौँ। हामी दरो र मजबुत वृक्ष हौँ। अरूको बलमा उम्रेका पनि होइनौँ। हामी आफै उम्रिँदै हुर्किँदै मजबुत हुँदै अनेक आँधी, हुरी, तुफान, बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौँ। अर्को कसैलाई नसमातीकन उठ्न नसक्ने खालको त्यान्द्रो लहरो होइन एमाले। एमाले एउटा स्वतन्त्र हैसियत भएको पार्टी हो। हामी आफ्नै बुतामा आएका हौँ, अघि बढेका हौँ, फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै अगाडि बढ्छौँ,’ उनले भने, ‘हामी माझ आएका चुनौतीहरूको सामना गर्दै तिनलाई पराजित गर्दै अगाडि बढ्छौँ। नेकपा एमाले परिस्थितिसँग आत्तिने अथवा मात्तिने गर्दैन। अनुकूलता आयो भने हौसिने र अलिकति प्रतिकूलता आयो भने निराश हुने पार्टी होइन । हरेक परिस्थितिहरू हामीले जितेका छौँ, सामना गरेका छौँ र अगाडि बढेका छौँ, बढ्छौँ।’
उनले पार्टीले गरेका गतिविधिहरुलाई समाजसम्म पु¥याउन आआफ्नो ठाउँबाट भूमिका खेल्न समेत पार्टी कार्यकर्तालाई निर्देशन दिए। –न्युज एजेन्सी नेपाल