नेकपा (एमाले) ले आइतबार आफ्ना सांसदहरूसँग अन्तरक्रिया गर्दैछ।
संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन आफ्ना सांसदहरूसँग अन्तरक्रिया गर्न लागिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन।
पार्टीको संसदीय विभागको आयोजनामा ११ बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा निर्देशन दिनेछन्।
महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रकाश पार्नेछन भने संसद् सचिवालयका पूर्वसचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
कार्यक्रममा सहभागी हुन सवै विभागका प्रमुख तथा पूर्वसदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका एमाले सांसदहरूको सहभागिता रहनेछ।