नेपाली कांग्रेसले बिपी स्मृति दिवसमा 'ग्रीन रन'लगायत विभिन्न कार्यक्रम गर्ने भएको छ।
उपसभापति विश्वप्रकाश शर्माका अनुसार ४४ औं बिपी स्मृति दिवसमा पार्टीले साउन ६ गते ५ किलोमिटर ग्रीन रन र 'जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी गर्ने?' प्यानल डिस्कसनलगायत कार्यक्रम गर्दैछ।
ललितपुर कांग्रेसको स्थानीय व्यवस्थापनमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यो कार्यक्रम गर्दैछ।
साउन ६ गते बिहान ६ बजे ललितपुरस्थित युएन पार्कनजिकबाट सुरू हुने दौड जावलाखेलसम्म पुगेर सकिनेछ। जलवायु सचेतना जगाउन भन्दै कांग्रेसले ग्रीन रन आयोजना गरेको हो।
साथै साउन ६ गते बिहान ७ बजे 'जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी गर्ने?' विषयक छलफल कार्यक्रम छ। जावलाखेल चोकमा हुने यस कार्यक्रममा विज्ञहरू पनि सहभागी हुनेछन्।
बिपी स्मृति दिवसमा साउन ७ गते राष्ट्रिय सभागृहमा कार्यक्रम पनि राखिएको कांग्रेसले जनाएको छ।