नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई पठाएको ५ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ।
गत पुसमा भएको विशेष महाधिवेशनमा भाग नलिएको देउवा पक्षले असोजमा घोषणा गरिएको १५ औं महाधिवेशनमा सहभागी रहने वातावरण तयार गर्न ५ बुँदे प्रस्ताव गरेको थियो।
उक्त प्रस्तावहरू आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएका छन्।
ती प्रस्ताव उपसभापति विश्वप्रकाश शर्मालाई जेठ १८ गते नै पठाइएको र अहिलेसम्म यसबारेमा जानकारी नआएको उनीहरूको भनाइ छ।
तर संस्थापन पक्षले भने ह्वाट्सएपमा पठाइएको प्रस्तावबमोजिम जबाफ नआएको बताएको थियो।
‘पार्टी एकताका लागि हदैसम्मको प्रयास गर्ने कुरा भएको थियो, तर विशेष महाधिवेशनबाट आएको नेतृत्वले यतिका समयसम्म सार्थक पहल गरेको वा गर्न चाहेको देखिएन,’ नेता मीनबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा भने, ‘यही साउन महिनाभित्र राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेका छौं।’
यस्तो छ देउवा पक्षको प्रस्ताव-
पहिलो, १४ औं महाधिवेशनको कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने,
दोस्रो, सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने,
तेस्रो, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने,
चौथो, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति बनाउने
पाँचौं, महाधिवेशनको लागि पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगन थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वत: सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने। डिजिटल इन्ट्रीलाई पुन: नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने।