नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका विमतिहरू संवादबाटै हल हुने बताएका छन्।
आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नमा जबाफ दिँदै शर्माले भने, ‘राजनीतिक दलहरूभित्र विमतिहरू हुन्छन्। तर ती विमतिहरू संवादबाट हल हुन्छन्। आन्तरिक विषयहरू हल गरेर सुखद निष्कर्षमा पुर्याउँछौं।’
उनले साउन ६ गते बिपी स्मृति दिवसमा पार्टीले विभिन्न कार्यक्रम गर्न लागेको र उक्त कार्यक्रममा केन्द्रित हुन चाहेको पनि बताएका थिए।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बिपी स्मृति दिवसमा प्रज्ञा भवनमा बेग्लै कार्यक्रम गर्ने तयारी गरेका छन्। विशेष महाधिवेशनमा भाग नलिएको देउवा पक्षले बेग्लै कार्यक्रम गर्न लागेको छ।
पत्रकारहरूले कांग्रेसमा बिपी स्मृतिलाई लिएर दुई ठाउँमा कार्यक्रम किन भन्ने प्रश्न गरेका थिए।
जबाफमा उपसभापति शर्माले, ‘बिपी कोइराला हामी सबैको हुनुहुन्छ, अझै भन्ने हो भने कांग्रेसको मात्र नभएर कांग्रेस बाहिरकाले पनि सम्मान, श्रद्धा गर्न मिल्छ। त्यसैले कहीँ पनि कसैले पनि कार्यक्रम गर्दैगर्दा त्यसप्रति नकरात्मक टिप्पणी कांग्रेसले गर्दैन।’
उनले पार्टीभित्रका सबैलाई सँगसँगै लैजान चाहेको पनि बताए। कांग्रेसले साउन ६ गते ग्रीन रनलगायत कार्यक्रम र ७ गते गोष्ठी आयोजना गर्दैछ।