चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षामा खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले बन्दुक र गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
नवलपुर मध्यविन्दु नगरपालिका ३ स्थित बह्मस्थानघाटबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।
मध्यविन्दु नगरपालिका १ सेतोपानीका ६८ वर्षीय खडगनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका ५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई जेठ २३ गते नियन्त्रणमा लिइएको हो। कार्तोस भनिने बन्दुक एक थान र त्यसमा लाग्ने गोली बरामद भएको हो।
उनीहरू एकसिंगे गैँडा मार्ने उद्देश्यसहित निकुञ्ज प्रवेश गरेको पाइएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
साथै जेठ २४ गते खडगनारायण चौधरीको घरमा खानतलासी गरिएकोमा बाघको दाँतजस्तो देखिने ७ थान ओखेटोपहार पनि बरामद भएको छ। साथै माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय रुपैयाँ ५ सयको १३६ वटा नोट पनि बरामद भएको छ।
उनीहरूविरूद्ध साउन ४ गते नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको छ। एकसिंगे गैँडा मार्ने उद्योग, ओखेटोपहार खरिद बिक्री गर्ने मुद्दामा उनीहरूमाथि अनुसन्धान हुनेछ।