कक्रोच जनता पार्टी (सिजेपी) का प्रदर्शनकारीहरूमाथि सोमबार भएको भारतीय प्रहरीले गरेको दमनलाई लिएर पञ्जाबी गायक दिलजीत दोसाँझले प्रतिक्रिया दिएका छन्।
दिलजीत दोसाँझले प्रशासनले उनीहरूको माग सुन्नुपर्ने बताएका छन्।
उनले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत् ‘विद्यार्थीहरूसँग प्रहरीले जस्तो व्यवहार गर्यो, त्यस्तो गर्न नहुने’ प्रतिक्रिया दिएका हुन्।
‘आज (सोमबार) जे भयो, त्यो धेरै गलत थियो। विद्यार्थीहरूसँग यस्तो व्यवहार हुनु हुँदैनथ्यो। म प्रशासनसँग अपिल गर्दछु कि उनीहरूले विद्यार्थीहरूको माग सुनून्। जनताको आवाज नै भगवानको आवाज हो,’ उनले लेखेका छन्।
यस्तो लेखेबापत आफूले राष्ट्रविरोधीको आरोप सामना गर्नुपर्ने कुरामा आफू सचेत रहेको उनले बताएका छन्।
‘मलाई पहिले पनि धेरै पटक एन्टी नेसनल (राष्ट्रविरोधी) भनिसकिएको छ। अब पनि मलाई एन्टी नेसनल भनिनेछ। किसान आन्दोलनपछि मैले धेरै विरोध र कानुनी झमेलाहरूको सामना गर्नुपरेको थियो। म त्यस विषयमा कुरा पनि गर्न चाहन्नँ,’ उनले अगाडि लेखेका छन्।
अहिलेसम्म अभिनेता सोनु सूद, रितेश देशमुख, रणवीर शौरी, अभिनेत्री जेनेलिया र भूमि पेडनेकर लगायत थुप्रै सेलिब्रेटीहरूले विद्यार्थीहरूको आन्दोलनमा समर्थन जनाएका छन्।