नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका छन्।
सरकारले बजेटमार्फत् ३ प्रतिशत समता कर लिने भनेकोमा आज प्रधानमन्त्री बालेन शाहले उक्त कर नलिने घोषणा गरेका थिए।
त्यसपछि सभापति थापाले सामाजिक सञ्जाल एक्समार्फत् प्रधानमन्त्रीको उक्त कदम स्वागतयोग्य भनेका छन्।
साथै उनले यो निर्णयलाई कार्यान्वनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया रीतपूर्वक पूरा गर्न पनि आग्रह गरेका छन्।
सभापति थापाले यसअघि नै शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर जनताले धान्न नसक्ने र सरकारले फिर्ता लिनुपर्ने अवस्था आउने बताएका थिए।
यस्तो छ सभापति थापाको भनाइ-
सरकारको निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर लागू नगर्ने निर्णयको स्वागत छ। यो व्यवस्था अनुपयुक्त भएको कुरा हामीले प्रारम्भबाट नै उठाउँदै आएका थियौं। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्। धेरैका लागि त्यो कुनै विलासिता (luxury) होइन, बाध्यता हो। निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन।
त्यसैले समता शुल्क लागू गर्नु समानताको नीति थिएन, बरु असमानतालाई अझ बढावा दिने व्यवस्था थियो। सरकारले यही आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको छ। यो निर्णय सही छ। उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा होस्। साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्।