प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्यमा बजेटमार्फत् लगाइएको ३ प्रतिशत 'समता कर' फिर्ता लिनेबारे अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सल्लाह गरेका थिए कि थिएनन् भन्ने अहिले चासोको विषय बनेको छ।
प्रधानमन्त्री शाहले यो घोषणा आफ्नो सामाजिक सञ्जाल फेसबुक लगायतबाट पोस्ट गरेका थिए। त्यसमा उनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यो निर्णयमा पुगेको उल्लेख गरेका छन्। तर यस विषयमा अर्थमन्त्री वाग्लेसँग परामर्श भएको थियो कि थिएन भन्ने चासो मानिसहरूलाई छ।
हामीले यसबारे अर्थमन्त्री वाग्लेका जनसम्पर्क सल्लाहकार नवीन ढुंगानासँग कुरा गरेका छौं।
ढुंगानाले प्रधानमन्त्री र अर्थमन्त्रीबीच भएको सल्लाह अनुसार कर फिर्ताको घोषणा आएको जानकारी दिए।
उनका अनुसार निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर हटाउने विषयमा प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच सोमबार करिब एक घन्टा छलफल भएको थियो।
'सोमबार अपराह्न ३ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच यही विषयमा कुराकानी भयो,' उनले सेतोपाटीसँग भने, 'भेटमा खासगरी स्वास्थ्यसम्बन्धी करको आलोचना भएको विषयमा छलफल भएको थियो।'
उनले अगाडि भने, 'यो कर लगाउने बेला पनि प्रधानमन्त्री र अर्थमन्त्रीबीच सल्लाह भएको हो, अहिले हटाउने बेला पनि उहाँहरूबीच सल्लाह भएको छ।'
सल्लाहकार ढुंगानाले परामर्शकै आधारमा प्रधानमन्त्रीले कर हटाउने विषय सार्वजनिक गरेको बताएका छन्।
यो घोषणा कार्यान्वयन गर्न अब अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र त्यसपछि राजपत्रमा प्रकाशित भएपछि कर हट्ने उनले जानकारी दिए।
निजी शिक्षा र स्वास्थ्यको समता करबारे प्रधानमन्त्री र अर्थमन्त्रीले सार्वजनिक रूपमा भइरहेको आलोचनाबारे छलफल गरेका थिए। छलफलका लागि अर्थमन्त्री वाग्लेले नै प्रधानमन्त्री शाहसँग समय मागेको ढुंगानाको भनाइ छ।
'समसामयिक कर र स्वास्थ्यको करबारे छलफल केन्द्रित थियो। यो अर्थमन्त्रीको परामर्शमा नै लिइएको निर्णय हो,' उनले भने।