न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पक्राउ गर्ने कानुनी अधिकार न्युयोर्क सिटीसँग नभएको बताएका छन्।
ममदानीले एक्समा भिडिओ सन्देश सार्वजनिक गर्दै नेतन्याहू न्युयोर्क आए पनि उनलाई पक्राउ गर्ने कानुनी अधिकार आफूहरूसँग नहुने बताएका हुन्।
'यदि बेन्जामिन नेतन्याहु यहाँ आए भने अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को पक्राउ पुर्जी न्यूयोर्क सिटीले कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने विषयमा हाम्रो प्रशासनले कानुनअनुसार उपलब्ध सबै विकल्प समीक्षा गरेको छ। निष्कर्ष स्पष्ट छ—हामीसँग यो पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानुनी अधिकार छैन,' उनले भनेका छन्।
उनले संघीय सरकारसँग भने यस्तो अधिकार रहेको दाबी गर्दै अमेरिकाले आइसिसीमा आबद्ध भई उक्त पक्राउ पुर्जी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
ममदानीले केही दिनअघि अमेरिकी अखबार द न्यूयोर्क टाइम्ससँग गरेको अन्तर्वार्तामा नेतन्याहुलाई कथित युद्ध अपराधको आरोपमा पक्राउ गर्न सकिने कानुनी आधारबारे आफ्नो कानुनी टोलीसँग अध्ययन गरिरहेको बताएका थिए।
यसबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै नेतन्याहु कुनै पनि हालतमा पक्राउ नपर्ने बताएका थिए।
नेतन्याहु यस वर्षको अन्त्यतिर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आउन सक्ने सम्भावना छ।
यसअघि नेतन्याहुको कार्यालयले ममदानीमाथि आफ्ना गल्तीबाट जनताको ध्यान मोड्न यहुदी राष्ट्रका नेतामाथि आक्रमण गरेको आरोप लगाएको थियो।
संयुक्त राष्ट्रसंघका लागि इसराइलका राजदूत ड्यानी ड्यानोनले ममदानीको भिडियोमा कडा प्रतिक्रिया लेखेका थिए।
'तपाईं न्यूयोर्कवासीको सेवा गर्न निर्वाचित हुनुभएको हो, हमासको प्रचार गर्न होइन। आफ्नो काम गर्नुस्,' उनले लेखेका थिए।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले सन् २०२४ मा नेतन्याहु र अन्य इजरायली नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। आइसिसीले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि गजामा भएका सैन्य कारबाहीका क्रममा युद्ध अपराध भएको आरोप लगाएको छ। इसराइलले भने ती आरोप अस्वीकार गर्दै आएको छ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका वरिष्ठ कानुनी विश्लेषक एलि होनिगले ममदानीसँग नेतन्याहुलाई पक्राउ गराउने अधिकार नभएको बताएका छन्।
'न्यूयोर्क सिटीका मेयरले कुनै विदेशी राष्ट्रप्रमुखलाई पक्राउ गराउने अधिकार छ भनेर सुझाव दिनु पूर्ण रूपमा हास्यास्पद हो,' उनले भनेका छन्।
अमेरिकाले आइसिसीको आधारभूत सन्धि ‘रोम विधान’ अनुमोदन गरेको छैन। त्यसैले आइसिसीको पक्राउ पुर्जी कार्यान्वयन गर्ने दायित्व अमेरिकामाथि स्वतः लागू हुँदैन।
यसअघिका राष्ट्रपति जो बाइडेनले पनि नेतन्याहूविरूद्ध आइसिसीले जारी गरेको पक्राउ पुर्जीको विरोध गरेका थिए।