दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा 'अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन' को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
यस प्रदर्शनमा अन्य विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू पनि सहभागी रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
प्रदर्शनकारीहरूको मार्च पटनाको गान्धी मैदानस्थित गेट नम्बर १० बाट सुरू भई राजभवनतर्फ अघि बढेको थियो। तर गान्धी मैदान नजिकैको जेपी गोलम्बरमा प्रहरीले उनीहरूलाई रोकेका थिए।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले वाटर क्यानन (पानीको फोहोरा) र अश्रुग्यास प्रहार गरेका छन्।
बिबिसीका अनुसार प्रहरीका तर्फबाट अश्रुग्यासका दुईवटा गोला प्रहार गरिएको छ। त्यस क्रममा प्रदर्शनकारीका तर्फबाट पनि प्रहरीमाथि ढुंगामुढा गरिएको आरोप छ।
प्रहरीको कारबाहीका बाबजुद प्रदर्शनकारी विद्यार्थीहरू जेपी गोलम्बरमा रोकिएनन् र अघि बढ्दै डाक बंगला चौराहासम्म पुगेका छन्।
यस क्रममा विद्यार्थीहरूले 'गोदी मिडिया गो ब्याक' का नारा निरन्तर लगाइरहेका थिए। प्रदर्शनका क्रममा केही सञ्चारकर्मी घाइते भएको खबर बाहिर आएको छ। पछि केही व्यक्तिहरूको हस्तक्षेपपछि सञ्चारकर्मीहरूलाई भीडबाट सुरक्षित बाहिर निकालिएको थियो।