नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताएका छन्।
बुधबार जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सहकार्य गरेका दलहरूसँग पुनःमोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्।
उनले नेपाली कांग्रेस, मधेस केन्द्रित दल तथा अन्य राजनीतिक शक्तिहरूसँगको सहकार्य नै वर्तमान चुनौतीको समाधान भएको उल्लेख गरे।
उनले राष्ट्रिय स्वाधीनताको प्रश्न हाल अत्यन्तै पेचिलो र संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै यसको रक्षाका लागि दलहरूबीच साझा धारणा बन्नु आवश्यक रहेको उल्लेख गरे।
अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रभाव र सम्बन्ध विस्तारमा विगतमा केही कमी कमजोरी भएको स्वीकार गरे।
उनले आगामी दिनमा विश्वका विभिन्न कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहलकदमीलाई थप सशक्त बनाउने निष्कर्षमा पार्टी पुगेको जानकारी दिए।
संयोजक दाहालले भने, ‘देशको अहिले असाधारण जटिल राजनीतिक परिस्थिति, जसमा राष्ट्रिय स्वाधीनताको प्रश्न निकै पेचिलो, संवेदनशील र जोखिमपूर्ण अवस्थामा परेको छ, त्यसको सामना गर्न हिजो बाह्रबुँदे समझदारीदेखि शान्ति सम्झौता र संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन सहकार्य गरेका राजनीतिक दलहरू–नेपाली कांग्रेसदेखि मधेस केन्द्रित दलहरू तथा अन्य सबै दलहरूसँग पनि हामीले सहकार्य र मोर्चा गरेर अगाडि जानुपर्छ भन्ने कुरा गर्यौं।’
उनले अगाडि भने, ‘साथै, हामीले अन्तर्राष्ट्रिय पहल पनि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ। अन्तर्राष्ट्रिय क्षेत्रमा जति हामीले आफ्नो प्रभाव, संगठन र सम्बन्ध विस्तार गर्दै विभिन्न देशका कम्युनिष्ट पार्टी तथा वामपन्थी शक्तिहरूसँग सहकार्य गर्नुपर्ने थियो, त्यति गर्न नसकेको महसुस गरेर हामीले त्यसलाई पनि निष्कर्षमा पुर्याउँदै अगाडि बढेका छौँ। यही क्रममा भौगोलिक प्रदेशहरूमध्ये अब बागमती प्रदेश मात्रै शपथ ग्रहणका लागि प्रदेश समितिमा बाँकी छ, र आज मधेस प्रदेशमा हामी यो शपथ ग्रहण समारोहमा उपस्थित भएका छौँ।’
सांगठनिक अवस्थाबारे चर्चा गर्दै उनले भौगोलिक प्रदेशहरूमध्ये मधेस प्रदेशको शपथ ग्रहण सम्पन्न भएको र अब बागमती प्रदेशको मात्र बाँकी रहेको बताए।
मधेस प्रदेशको कार्यक्रम सम्पन्न भएसँगै पार्टीले सांगठनिक अभियानमा नयाँ गति लिने उनको विश्वास छ। –न्युज एजेन्सी नेपाल