डा. गोविन्द केसी चिकित्सा क्षेत्र सुधारका विभिन्न मागसहित अनशनमा बसेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदहरूले यसबारे धारणा सार्वजनिक गरेका छन्।
केसी बिहीबार अपराह्न धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेका थिए।
उनले चिकित्सा शिक्षा आयोग, दशरथ चन्द विश्वविद्यालय लगायतका नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने जस्ता माग अघि सारेका छन्।
यसबारे पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी रास्वपा सांसद डा. तोसिमा कार्कीले डा. केसीको अनशन बस्नुपर्ने अवस्था नै आउनु नपर्ने बताएकी छन्।
‘अनशन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो, आएछ, सर अन्सन बस्नुभयो। अब हाम्रो सरकारले तत्कालै डा केसीका जायज मागहरू सम्बोधन गरोस् र भनोस् सर तपाईं जस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनसन बस्नै पर्दैन, यो सरकार तपाईकै हो, तपाई सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाब दिन सक्नुहुन्छ,’ उनले भनेकी छन्।
अहिलेको सरकारले जनताको र निस्वार्थी विज्ञको कुरा सुन्ने पनि उनले बताइन्।
‘भयो सर, अनशन छोडिदिनुस, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईका जायज मागहरूमा हामी तपाईं सँगै सहकार्य गर्दै अघि बढ्नेछौँ। अघिल्ला सरकारले तपाईसँग सम्झौता गरेका माग पनि हामी पूरा गर्नेछौँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।
केसीले उठाएका जायज माग तत्काल सम्बोधन गर्न शिक्षामन्त्री स्वयम् तथा प्रधानमन्त्रीको सचिवालयको पनि ध्यानाकर्षण गराइसकेको पनि उनले बताइन्। ‘ढिला नहोस्। शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि, जनदबाब बढेपछि त पहिला पनि सम्बोधन हुन्थ्यो, हामीले त्यो अवस्था कुर्नहुन्न,’ उनको भनाइ छ, ‘नेपाली जनताको हित केन्द्रित अभियानमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि प्रा डा.गोविन्द केसीसँग सधैँ थिएँ, छु, रहनेछु।’
साथै रास्वपाका सांसद गणेश कार्कीले डा. केसी अनशन बसेको जानकारी पाएको उल्लेख गरेका छन्।
उनले दशरथ चन्द मेडिकल विश्वविद्यालयलाई सञ्चालन गर्न अवरोध गर्न नहुने बताए।
साथै एमबिबिएसमा अझै छात्रवृति आवश्यक रहेको उनले बताए। ‘मापदण्ड नपुगेका ठाउँमा सिट थपेर सर्टिफिकेटमात्र बोकेका स्वास्थ्यकर्मी उत्पादन हुनु हुन्न। यसमा कडाइ हुनै पर्छ । यहि सरकारले त्यो कडाइ गर्छ र गुणस्तरिय स्वास्थ्यकर्मी उत्पादन हुने वातावरण बनाउँछ,’ कार्कीले भने।
निजी मेडिकल व्यवसायीहरूलाई लगानीको नयाँ क्षेत्र खोली अहिले भएका अस्पताल, शिक्षण अस्पताल गैरनाफामूलक बनाउँदै अन्ततः गुणस्तरीय स्वास्थ्य सबैका लागि निःशुल्क हुने दिशाउन्मुख नीति बनाउन दबाब दिने पनि उनले बताएका छन्। यो कुरा आफूले चुनावको वाचापत्रमा लेखेको उनको भनाइ छ। ‘त्यसमा लगानी गर्ने नागरिकको लगानीलाई सुरक्षित गरेर, कानूनले तोकिएको नाफासमेत दिएर गैरनाफामूलक बनाउनु पर्छ। यसमा समर्थन छ,’ उनले भने।
उनले केसीको स्वास्थ्य क्षेत्रप्रतिको निष्ठामा अलिकति पनि शंका नरहेको उल्लेख गरेका छन्।
‘तपाईंको कर्मप्रति सम्मान र विश्वास दुवै छ। जे मागका लागि तपाई अनसन बस्नु भएको छ, ति सरकार बनेको १२० दिन भित्र भइहाल्ने कुरा होइनन् भन्ने तपाईलाई पनि थाहा भएको हुनु पर्छ। केही समय दिनुहोला, माग पूरा हुन्छन्। यी मागका लागि तपाईं अनशन बस्न पर्दैन। यिनै माग र आवश्यकतालाई चुनावका वाचापत्रमा लेखेर संसदमा पुगेको म र म जस्ता धेरै छौँ। वाचा बिर्सिने छैनौँ। पूरा गर्नेछौँ,’ उनले फेसबुकमा लेखेका छन्।