नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा पनि चीनमा जस्तै 'अफिम युद्ध' चलाउनुपर्ने बेला भएको बताएका छन्।
पुष्पलाल जयन्तीको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै संयोजक प्रचण्डले 'साम्राज्यवादी'हरूले चिनियाँलाई अफिम खुवाएर लठ्ठ पारेर त्यहाँको स्रोत साधन कब्जा गरेजस्तै नेपालमा पनि सामाजिक सञ्जालको अफिमबाट युवाहरूलाई लठ्ठ पारिएको बताएका हुन्।
'अब हामीले पनि अफिम युद्ध चलाउनुपर्ने भएको छ। अर्को उपाय नै छैन,' उनले भने, 'चिनियाँहरू अफिमबाट मुक्त भएपछि चिनियाँ क्रान्ति अगाडि बढेको थियो। यहाँ पनि सोसल मिडियाको अफिमबाट युवाहरूलाई मुक्त पार्न सकियो भने राष्ट्रिय स्वाधीनताका लागि वलिदान गर्ने आँट गर्नेछन्।'
संयोजक प्रचण्डले परिवर्तनहरूमाथि प्रहार हुँदा सबैभन्दा पीडा कम्युनिस्टहरूलाई नै हुने बताए।
भदौ २४ को प्रतिक्रान्ति नै हो भन्ने कुरा निर्वाचनपछि बनेको सरकारको गतिविधिबाट उदांगिएको उनले बताए।
'निर्वाचनपछि सरकारले जसरी यहाँका उत्पीडित वर्ग, जाती, क्षेत्र, समुदायका विरूद्ध गतिविधि गरेको अब त उदंग भइसकेको छ। उसको पहिलो काम हजारौं र लाखौं सुकुम्बासीहरूलाई बिचल्ली पार्नु प्रष्ट देखियो। दोस्रो काम, सीमानामा बडो दुःख गरेर जीविका चलाउने मधेसी जनताको छातीमा बुट बजार्ने काम भयो। सय रूपैयाँ भन्दा बढीमा कर लाग्छ भनेर। मधेसमाथि प्रहार भयो,' उनले भने।
विश्वव्यापी रूपमा स्थापित ट्रेड युनियन अधिकारमाथि प्रहार र विद्यार्थी आन्दोलनमाथि प्रहार गरेर पनि सरकारले त्यो पुष्टि गरेको प्रचण्डको भनाइ छ।
'असंलग्न परराष्ट्र नीति, एक चीन नीति, चीनविरोधी गतिविधि हुन दिने छैनौं भनेर हामी सबै दलले भन्दै आएको होइन? पचासौं वर्षदेखि तर योपटक उल्लंघन गरियो। दलाइ लामाको जन्मोत्सव, बधाई। अब जन्माउने रे अर्को दलाइ लामा उस्तै परे नेपालमा भन्ने पनि हल्लाखल्ला छ। यो सबै सामान्य कुरा होइन, धेरै गम्भीर कुरा यहाँ छन्,' उनले भने।
भदौको प्रतिक्रान्ति अझै पूरा नभएको पनि प्रचण्डले बताए। 'कम्प्लिट भएको छैन। साम्राज्यवादी दलालहरू त्यो प्रतिक्रान्ति पूरा गर्ने मिसनमा अझै छन्। यसको सामना गर्ने भनेको वामपन्थीहरूले नै हो,' उनले भने।
त्यसकारण वामपन्थी शक्तिहरू तत्काल एक हुन नसके पनि कार्यगत एकता गरेर अघि जानुको विकल्प नरहेको प्रचण्डले बताएका छन्।