भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारतीय सर्वोच्च अदालतको इजलासमा बसेका छन्।
शुक्रबार बिहान भारतीय प्रधानन्यायाधीश सूर्य कान्तसँगै विभिन्न देशका न्यायाधीशहरू सेरेमोनियल बेन्चमा बसेका हुन्।
सर्वोच्च भ्रमणको क्रममा प्रधानन्यायाधीश शर्मा पनि त्यही इजलासमा बसेका हुन्। इजलासमा बेलायत, भुटान, ब्राजिल र केन्याका न्यायाधीशहरू बसेका थिए।
भारतीय प्रधानन्यायाधीशले इजलासमा बसेपछि त्यहाँ उपस्थित न्यायाधीशहरूको परिचय गराएको बार एन्ड बेन्चले जनाएको छ।
महान्यायाधिवक्ता आर वेंकटरमणले प्रधानन्यायाधीश शर्मा लगायतलाई स्वागत गर्दै भारत विविध परम्परा र कानुनी मूल्यमान्यताको संगमस्थल रहेको बताएका थिए।
‘भारत संस्कृति र मूल्य मान्यताको संगम हो। आज साँझ हुने अन्तरक्रियाको हामी प्रतीक्षामा छौं। यसले भारतको स्वदेशी विधिशास्त्र पनि परिचित गराउनेछ,’ उनले भनेका थिए।
त्यस्तै, सोलिस्टर जनरल तुसार तुसार मेहताले भारत भ्रमणका दुई दिन अपुग रहेको बताएका थिए।
‘भारत विविधताले भरिएको देशहरूमध्ये एक हो। तर भारतजस्तो देशलाई बुझ्न र घुम्न दुई दिन भनेको निकै कम समय हो,’ उनले भने।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास सिंहले पनि भ्रमणमा आएका न्यायाधीशहरूलाई स्वागत गरेको बार एन्ड बेच्नले समाचारमा उल्लेख गरेको छ।
‘यो अत्यन्तै महत्त्वपूर्ण क्षण हो। हामी सबै न्यायाधीशहरूलाई संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार कानुन सम्बन्धी आयोगको ६० औं वार्षिकोत्सव कार्यक्रममा स्वागत गर्दछौं। हाम्रो न्यायपालिका अन्तर्राष्ट्रिय स्तरमै अनुकरण र अध्ययनको विषय बनेको छ,’ उनले भने।
प्रधानन्यायाधीश शर्मा, उनकी पत्नी उमा शर्मा र स्वकीय सचिव (सहरजिस्ट्रार) अमित उप्रेती बिहीबार एयर इन्डियामार्फत भारत भ्रमणमा पुगेका थिए।
भारतमा शुक्रबार साँझ आयोजना हुने संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार कानुन सम्बन्धी आयोगको ६०औं वार्षिकोत्सव कार्यक्रममा उनी सहभागी हुँदैछन्। यो कार्यक्रममा भारतका कानुन तथा न्याय मन्त्री अर्जुन राम मेघवाल, विदेश मन्त्री एस जयशंकर र प्रधानन्यायाधीश सूर्य कान्तले मन्तव्य राख्नेछन्।
यही कार्यक्रम अघि प्रधानन्यायाधीश शर्माले भारतीय सर्वोच्च अदालतको भ्रमण गरेका हुन्। यो कार्यक्रम आइतबार सम्पन्न हुनेछ।
कार्यक्रम समापनपछि प्रधानन्यायाधीश शर्माको भ्रमण दल साउन ११ काठमाडौं फिर्ता हुनेछ।
