नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताएका छन्।
पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाको नेतृत्वमा पुगेका कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आइतबार भएको भेटमा सभापति थापाले यस्तो बताएका हुन्।
सभापति थापाले वर्तमान चुनौती सामना गर्न पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै यसमा असर पर्ने कुनै पनि कार्य नगर्न सबैलाई आग्रह गरे।
भेटपछि दबाब अभियानका संयोजक भीम ढुंगानाले दिएको जानकारी अनुसार, सभापति थापाले पार्टी एकताका लागि अभियानले साउन १६ गते आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गरेका छन्।
'हामी पार्टी भित्रको समस्या समाधानका लागि गम्भीरतापूर्वक लागेका छौं, मतभेद र बहस चर्काउने भन्दा पनि घटाउनुपर्छ,' सभापति थापाको भनाइ उद्धृत गर्दै ढुंगानाले भने, 'तपाईंहरूको पहल राम्रो छ, तर अहिले भेला गर्नेभन्दा मसिनो गरी विषयहरू टुंगो लगाउनुपर्ने भएकाले साउन १६ को भेला स्थगित गर्नुस्। आवश्यक परे बरू म आफै बोलाउनुस् भन्छु।'
त्यस्तै, असन्तुष्ट नेताहरूसँग सुक्ष्म रूपमा सहमतिको खाका बनाउन दुई जना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल आज-भोलिमै बन्ने जानकारी सभापतिले दिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले बताए।
कार्कीका अनुसार सभापति थापाले केन्द्रीय समितिको बैठक नै पर धकेलेर भए पनि सहमतिको प्रयास थालिएको र साउन तेस्रो सातासम्म सहमतिले सार्थकता पाउने विश्वास दिलाएका छन्।
विगत केही दिनदेखि शीर्ष नेताहरूलाई भेटेर पार्टी एकताका लागि दबाब दिइरहेको यो समूहले आइतबार सभापति थापासँग छुट्टै भेट गरेको थियो। त्यस क्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी एकताबिना गाउँमा जनतालाई आशावादी बनाउन नसकिने र पार्टीको साख फर्काउन असम्भव रहेको धारणा राखेका थिए।
भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीका अनुसार, पार्टी एकता नभए यही परिस्थितिमा स्थानीय तहमा रहनुको औचित्य नरहने भन्दै उनीहरूले राजीनामा दिनेसम्मको ध्यानाकर्षण गराएका थिए।
सभापति थापाले भने त्यस्तो अवस्था नआउने र कांग्रेस एक हुनेमा आफूहरूलाई आश्वस्त तुल्याएको तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकर उपाध्यायले जानकारी दिए।
सभापतिले दबाब अभियानलाई सकारात्मक रूपमा लिएकाले अब कसरी अघि बढ्ने भन्ने सन्दर्भमा देशभरका जनप्रतिनिधिसँग जुम बैठक गरी थप धारणा बनाउने संयोजक ढुंगानाले बताए।
कागेश्वरी मनोहराका नगरप्रमुख कार्कीले पनि खबरदारी जारी रहने र भेला स्थगित गर्ने/नगर्नेबारे साथीहरूसँग थप छलफल गरेर निर्णय गरिने जानकारी दिए।
आइतबार भएको भेटमा संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका महासंघका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्की, तिलागुफाका नगरप्रमुख शंकर उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन, तथा दबाब अभियान प्रचारप्रसार समितिका संयोजक एवं प्रेस युनियनका पूर्व कोषाध्यक्ष सरोज अधिकारी लगायतको सहभागिता थियो।